बुढाल मृत्यु प्रकरण: ११ दिनपछि शव बुझेर सदगत्

२३ फाल्गुन २०७९ संवाददाता 1231


बैतडी- 
राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा सहायक सूचकका रुपमा कार्यरत बैतडीको दशरथचन्द नगरपालिका- १० खडेनीका २५ वर्षीय जीवन बुडालको शव आफन्तले बुझेका छन् । मृत्यु भएको ११ दिनपछि आफन्तले शव बुझेका हुन् ।

फागुन १३ गते वनभोजका लागि दोगडाकेदार गाउँपालिका- ४ जाडाबगरस्थित चौलानी नदी किनार गएका जीवन सोही राति नदीमा मृत अवस्थामा फेला परेका थिए । बुढालको शव भेटिएको स्थानमा विष्फोटक वस्तु समेत फेला परेको थियो । प्रहरी प्रशासनले अनुसन्धान सुरू गरि घटनामा संलग्नलाई कारबाही गर्ने आश्वासन दिएपछि परिवारले शव बुझेका हुन् । 
 
परिवारका सदस्यले बुडालको हत्या भएको भन्दै १२ जनाको नाममा किटानी जाहेरी दिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता, इन्सपेक्टर लोकराज जोशीले बताउनुभयो । जोशीले भन्नुभयो ‘घटनास्थलमा विस्फोटक सामाग्री समेत फेला परेको छ ।, हामीले १२ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौँ ।’
 
जीवनसँगै वनभोज गएका नारायणसिंह ऐरी, गजेन्द्रसिंह रावल, पुस्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री, श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नविनसिंह ठगुन्ना, केशवसिंह रावल, दिपेन्द्रसिंह ऐरी, भीमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
 
उनीहरुमाथि ज्यानसम्बन्धी कसुर र विष्फोटक पदार्थसम्बन्धीको जाहेरी दर्ता भएर थप अनुसन्धान भइरहेको इन्सपेक्टर जोशीले बताउनुभयो । शुरुमा ७ दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा उनीहरुले विष्फोटक पदार्थ लुकाएर राखेको पत्ता लागेको थियो ।
 
घटनास्थल नजिकैबाट उक्त विष्फोटक पदार्थ पनि प्रहरीले बरामद गरेको छ। हाल उनीहरुविरुद्ध दोस्रोपटक थप १२ दिनको म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ । बुडाल विदामा घर आएका बेला फागुन १३ गते आफ्नो घर दशरथचन्द नगरपालिका-१० खडेनीबाट वनभोज जाने भन्दै ११ जना साथीसँग म १ ज २२२ नं.को जिपमा चौलानी किनार गएका थिए ।
 
बुडाल चौलानी नदीमा डुबेको अवस्थामा फेला परेकोले डुबेर मृत्यु भएको अनुमान गरिए पनि उनी पौडी खेल्न सिपालु रहेको आफन्त दिनेस चन्दले बताउनुभयो। घटनाको अनुसन्धानका लागि सिआइबीको टोली पनि खटिएको छ ।



जवाफ छाड्नुस्