यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

०२ चैत्र २०७९ संवाददाता 364


काठमाडौं-
 आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ ।
 
बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।
 
जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो । यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ । र, जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ ।
 
आसिफ खानको कीर्तिमानी शतक
 
यूएईले पहिलो विकेट सस्तैमा गुमाएको थियो । टिमको स्कोर १९ रन हुँदा आर्यन लक्रा व्यक्तिगत ६ रनमा आउट भएका थिए । महम्मद वसिम र भृत्य अरविन्दले दोस्रो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गरे ।
 
बुधबार मात्र पपुवा न्यूगिनीविरुद्ध शतक बनाएका वसिमलाई १६.२ ओभरमा व्यक्तिगत ६३ रनमा आउट गरेपछि नेपालले खेलमा फर्किने संकेत दिएको थियो । अरविन्दले एउटा एण्ड सम्हालेपछि नेपालले धेरै रन जोड्न दिएको थिएन र विकेट पनि लिएको थियो । पाँचौं विकेटका रुपमा रोहन मुस्तफा २० रनमा आउट हुँदा यूएईको स्कोर ३७.३ ओभरमा १७५ रन थियो । ४४ औंभरको अन्त्यमा पनि उसको स्कोर २०८.५ थियो ।

 
तर अरविन्द र आसिफ खानको जोडीले अन्तिम ६ ओभरमा विस्फोटक ब्याटिङ गर्दै १०२ रन थप्यो । आसिफ खानले त छक्का र चौकाको वर्षा नै गरे । ४४ ओभर सकिँदा २० रन बनाएर खेलिरहेका उनले ४१ बलमा १०० रन पूरा गरे । सबभन्दा कम बलमा शतक पूरा गर्ने एशोसिएसट ब्याट्सम्यानको कीर्तिमान बनाएका उनी १०१ रनमा अविजित रहे । अरविन्द भने ९४ रन बनाएर इनिङकै अन्तिम बलमा आउट भए ।
 
नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कमीले १-१ विकेट लिए ।
 
निर्णायक ४२ औं ओभर
 
जवाफमा नेपालको सुरुवात निकै खराब रह्यो । पहिलो ओभरमै आरिफ शेखलाई शून्यमै गुमाएको नेपालका कुशल मल्ल ५ र कप्तान रोहित पौडेल पनि व्यक्तिगत १६ रनमै आउट भए । ३र३७ को अवस्थामा रहेको नेपालको पारी चार ब्याट्सम्यानले लगातार अर्धशतक बनाएर सम्हाले ।
 
सुरुमा कुशल भुर्तेल र भीम सार्कीको जोडी जम्यो । दुबैले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे । ३२ बलमा ३ चौका र ४ छक्काको मदतमा अर्धशतक पूरा गरेका कुशल थप तीन बलको सामना गर्दै ५० रनमै आउट भए ।
 
त्यसपछि भीम र आरिफ शेखले क्रिजमा जमेर खेले । दुबैले पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गरे । तर, ३१औं ओभरको अन्तिम बलमा भीम एलबीडब्लू धरापमा परे । ७६ बलको सामना गरेका उनी ९ चौकाको मद्दतमा ६७ रन बनाएर आउट भए । त्यसपछि आरिफले अर्धशतक पूरा गरे ।
 
गुल्सन झाले क्रिजमा टिकेर साथ दिँदा खुलेर खेल्ने प्रयास गरेका आरिफले ३९औं ओभरको तेस्रो बलमा चौका हान्दै अर्धशतक पूरा गरे । उनी पनि थप ३ बलको सामना गरेर व्यक्तिगत ५२ रनमा आउट भए । त्यसपछि क्रिजमा गुल्सन झालाई साथ दिन दीपेन्द्र सिंह ऐरी आएका थिए ।
 
टिकेर खेल्दा नजिता नेपालको पक्षमा आउन सक्थ्यो, तर खराब प्रकाशका कारण अम्पाएरले जुनसुकै बेला खेल रोक्न सक्ने अवस्था थियो । त्यो बेला डिएल मेथडबाट निर्णय गर्दा नतिजा नेपालको पक्षमा हुने थिएन । किनकि ४१ औं ओभर सकिँदा नेपालको स्कोर २३५/६ थियो, जबकी डिएलअनुसार जितका लागि २४४ रन चाहिथ्यो ।
 
तर ४२औं ओभरमा खेल नेपालको पक्षमा आयो । महम्मद वसिमको बलमा गुल्सनले तीन चौका र एक छक्का प्रहार गरेपछि डीएलमा जाँदा वा नजाँदाको दुबै परिस्थितिमा खेल नेपालको अनुकल ढल्कियो । यो ओभरमा मात्र नेपालले आफ्नो खातामा २० रन थपेको थियो ।
 
थप २ ओभरपछि अम्पायरले खेल रोके, जतिबेला नेपालको स्कोर ४४ ओभरमा २६९/६ थियो । र, डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो ।

अनलाइन खबरबाट 




जवाफ छाड्नुस्