बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले स्थापना भएको २७ वर्षपछि पहिलो पटक स्थापना दिवस मनाएको छ । ०५३ चेत्र १४ गते दशरथचन्द नगरपालिकाको स्थापना भएको सम्झनामा पहिलो पटक स्थापना दिवस मनाइएको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम बहादुर चन्दले बताउनुभयो ।
आज देखि १० दिन सम्म विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै स्थापना दिवस मनाउन लागिएको उहाँको भनाई छ । जस अन्र्तगत आज पहिलो दिन नगरपालिका परिसरमा सरसफाई, पुजापाठ, शहीद दशरथचन्दको गढीस्थित शालिकमा माल्यार्पण, दिप प्रज्वलन लगायतका कार्यक्रमको आयोजना गरि दिवसको सुभारम्भ गरिएको नगरपालिकाका योजना शाखा प्रमुख राजेश खत्रीले बताउनुभयो । उहाँका अनुसार १० दिन सम्म विभिन्न कार्यक्रमहरु गरिनेछन् ।
शहीद दशरथचन्दका नामले स्थापना भएको नगरपालिकामा यो भन्दा अगाडी दिवस मनाउने चलन नभएपनि यसपालीदेखि सुरु भएको उहाँको भनाई छ । नगरपालिकाको समग्र विकास र स्वच्छ नगरपालिका बनाउने उद्देश्य अनुरुप आफुहरुले काम गरिरहेको र उक्त कुराको सन्देश दिन पहिलो पटक स्थापना दिवस मनाईएको नगर उपप्रमुख कौशीला चन्दले बताउनुभयो ।