सिगास गाउँपालिका अध्यक्ष धामी बिरुद्ध कुटपिटको मुद्धा दर्ता

०९ जेठ २०८० संवाददाता 143
तस्बिर: उँपालिका अध्यक्षको कुटाइबाट घाइते भई जिल्ला अस्पताल बैतडीमा उपचार गराइरहेका बिरसिंह धामी 

बैतडी- बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीविरुद्ध सोमबार जिल्ला अदालत बैतडीमा पीडित पक्षले कुटपिट र गालीगबेइज्जतको मुद्धा दर्ता गराएका छन् ।
 
सिगास-४ को कान्धार–देउलेक सडक निर्माण समितिका अध्यक्ष बिरसिंह धामीले पालिका अध्यक्ष धामीबिरुद्ध मुद्दा दर्ता गरेका हुन् । आफूलाई अध्यक्ष धामीले कुटपिट र गाली बेइज्जती गरेको भन्दै बिरसिंहले मुद्दा दर्ता गरेको बताउनुभयो । 


 
०८० जेठ २ सडक निर्माणको क्रममा दोस्रो किस्ता बाफतको रनिङ बिलमा पालिकाले २० लाख ४४ हजार रकमको चेक उपभोक्ता समितिलाई दिएको थियो । तर चेक साट्न जाँदा पालिकाले बैंकलाई पत्राचार गरेर चेक नसाट्न भनेको थियो । 
 
चेक नसाटिएपछि उपभोक्ता समिति अध्यक्ष बिरसिंह धामी गाउँपालिकाको केन्द्र गर्जे पुग्दा गाउँपालिका अध्यक्षले कुटपिट गरेको पीडित पक्षको आरोप छ । 
 
अध्यक्ष धामीले सार्वजनिक पदको दुरुपयोग गर्दै कुटपिट र गाली बेइज्जती गरेको भन्दै उनीमथि कैद र जरीवानाका साथै उपचार खर्च माग गरिएको छ । 
 
गाउँपालिका अध्यक्ष धामीविरुद्ध अदालतमा कुटपिट र गाली बेइज्जती मुद्दा दर्ता भएको जिल्ला अदालत बैतडीका तहसिलदार तीर्थराज आचार्यले बताउनुभयो । अध्यक्ष धामीको नाममा म्याद जारी भएको र म्याद प्राप्त भएको २१ दिनभित्र अदालतमा हाजिर हुनुपर्ने आचार्यको भनाई छ । 
 
गाउँपालिका अध्यक्ष धामीले भने उपभोक्ता समितिका अध्यक्ष बीरसिंह धामीले मदिरा सेवन गरेर आफुमाथि दुव्र्यवहार गरेको बताएका छन् । उनले किर्ते कागजपत्र बनाएर भुक्तानी लिएको थाहा पाएपछि बैंकलाई चेक नसाट्न अनुरोध गर्दा पीडित भनिएका धामीले आफुमाथि दुव्र्यवहार गरेको अध्यक्ष धामीको आरोप छ । 



जवाफ छाड्नुस्