कञ्चनपुरका विद्यालयमा गणित पार्क
०१ चैत्र २०७८
संवाददाता
387

कञ्चनपुर- विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले लालझाडी गाउँपालिकाले गणित पार्क निर्माण गरेको छ। बल्मीमा रहेको पूर्णिमा आधारभूत विद्यालय र डाँडाजाईको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा गणित पार्क निर्माण गरिएको छ।
पार्कमा ज्यामितीय अवधारणा अनुसारका वृत, चतुर्भुज, घन, बेलना, गोलालगायत निर्माण गरिएका छन्। यससँगै गणित विषयका लागि आवश्यक पर्ने सूत्रहरू र चिह्नहरू पनि पार्कमा राखिएका छन्।
गणित पार्कको पोलहरूमा जनावरहरूका तस्वीरसँगै नेपाली‚ अंग्रेजी र वैज्ञानिक नामको जानकारी समेत राखिएको छ। दुवै विद्यालयका पार्कको लम्बाई ९७ फिट र चौडाई २५ फिट रहेको छ।
आकर्षक रंग लगाएर पार्कमा गणितका अवधारणालाई विद्यार्थीले सहजै बुझ्न सक्ने हिसबाले राखिएको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख सिद्धराज भट्टले बताए। विद्यार्थीले किताबी ज्ञानभन्दा पनि चित्र हेरेर‚ अवलोकन गरेर सहज रुपमा बुझ्ने भएकाले पार्क निर्माण गरिएको उनको भनाइ छ।
भारत लगायत अन्य देशका विद्यायमा गणित पार्क बनाएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिइने गरे पनि नेपालका लागि भने नौलो अभ्यास भएको शाखा प्रमुख भट्ट बताउँछन्।
गणितलाई जटिल विषयका रुपमा हेर्ने गरिएकाले त्यसलाई हटाउन पार्कले सघाउ पुर्याउने उनी बताउँछन्। विद्यार्थीहरुले पार्कमा निर्माण गरिएका रेखा, कोण र तिनबाट निर्मित आकृतिहरूको अध्ययन गर्न सक्छन्। ज्यामितीय गणितको अध्ययनलाई सजिलो बनाउन पार्कमा गणितसँग सम्बन्धित आकृतिहरू निर्माण गरिएको शाखा प्रमुख भट्टको भनाइ छ।