दशरथचन्द नगरका कर्मचारीले वाणिज्य बैङ्कबाट बिना धितो ऋण पाउने
०४ श्रावण २०७९
संवाददाता
1528

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाका कर्मचारीहरुलाई राष्ट्रिय वाणिज्य बैंकले बिना धितो ऋण दिने भएको छ। दशरथचन्द नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकको बैतडी शाखाबीच बुधवार भएको सम्झौता अनुसार नगरपालिकाका कर्मचारीहरुलाई ५ लाख देखि १५ लाख रुपैयाँसम्म बिना धितो ऋण दिने व्यवस्था गरिएको हो ।
दशरथचन्द नगरपालिकाका तर्फबाट मेयर पुस्करराज जोशी (लख्खाभाई) र राष्ट्रिय वाणिज्य बैङ्कका तर्फबाट प्रबन्धक पुरूषाेत्तम लेखकले सम्झौतामा हस्ताक्षर गरि नगरपालिकाको सिफारिसमा सेवा अवधी सुरु गरेको दुई बर्ष भएका र पाँच बर्ष बाँकी रहेका स्थायी कर्मचारीहरुले उक्त रकम बिना धितो प्राप्त गर्ने व्यवस्था गरेका हु ।
राष्ट्रिय वाणिज्य बैंकको बैतडी शाखामा तलवी बचत खाता खोल्ने र मासिक तलवको आधा रकम किस्ता रहने गरेर ऋण उपलब्ध हुने व्यवस्था गरिएको राष्ट्रिय वाणिज्य बैङ्कका प्रबन्धक पुरूषाेत्तम लेखकले बताउनुभयो । पेशाकर्मी सरल कर्जा योजना अनुसार वाणिज्य बैंक र नगरपालिकाबीच कर्मचारीलाई बिना धितो ऋण उपलब्ध गराउने सम्झौता भएको र यसले नगरपालिकाका कर्मचारीहरुलाई ऋण लिन सहज भएको नगर प्रमुख लख्खाभाइले बताउनुभयो ।
उक्त सहुलियत ऋणको ब्याजदर तत्काललाई ८.९७ प्रतिशत र समयावधी अधिकतम पाँच बर्ष सम्म तोकिएको छ ।