नगरस्तरीय महिला टि–२० क्रिकेटको उपाधि देहीमाण्डौंलाई

१७ माघ २०७९ संवाददाता 282


बैतडी-
बैतडीको दशरथचन्द नगरपालिका– २ देहिमाण्डौँ स्थित निङ्गलाशैनी खेलमैदानमा सम्पन्न नगरस्तरीय  महिला टि–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका– २ देहीमाण्डौंले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा दशरथचन्द नगरपालिका– ८ त्रिपुरालाई ७ विकेटले स्तब्ध पार्दै देहीमाण्डौंले उपाधिमाथि हात पारेको हो ।  
 
उपाधि हात पारेसंगै दनपा–२ ले नगद २५ हजार, ट्रफी र मेडल हात प्राप्त गरेको छ भने उपवेजेतामा सिमित दनपा ७  त्रिपुराले नगद १५ हजार, ट्रफी मेडल र प्रमाणपत्र पाएको छ ।  
 
जितका लागि पाएको ६० रनको सामान्य लक्ष्य देहीमाण्डौंले ७ दशमलब ५ ओभरमा ३ विकेटको नोक्सानीमा पुरा गर्यो । जसमा  कप्तान पिंकी बोहराले नटआउट २०, मनिषा बोहराले ११ र कविता बोहरा अविजित १० रनको योगदान गरिन् ।  त्रिपुराका लागि करिश्मा थापा, जानकी थापा, जानवी मौनीले १÷१ विकेट हात पारिन् । 
 
त्यसअघि निङ्गलाशैनी खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको त्रिपुरा १४ दशमलब ३ ओभरमा ५९ रनमा अलआउट भयो । उसका लागि माया टमटाले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । देहीमाण्डौंका लागि  निर्मला बोहरा, आरती बोहरा,बसन्ती बोहराले ३÷३ विकेट हात पारिन् । देहीमाण्डौंकी बसन्ती बोहरा ओम्यान अफ द फाइनल भएकी छन् ।  
 
यसैबीच प्रतियोगिताभर व्यक्तिगत १ सय ४९ रन र ५ विकेट हात पारेकी देहिमाडौंकी कप्तान पिंकी बोहरा सर्वोत्कृष्ट खेलाडी चुनिईन् । उनले ३ हजार पुरस्कार पाइन् ।  
 
यस्तै १० विकेट हात पारेकी देहिमाण्डौंकी बसन्ती  बोहरा उत्कृष्ट बलर, १४९ रन बनाएकी देहिमाण्डौंकी पिंकी बोहरा उत्कृष्ट ब्याटर बन्न सफल भइन् । दुबैले जनही एक हजार पाँच सय पुरस्कार पाएका छन् । यस्तै दनपा ९ ग्वाल्लेकको टोलीले अनुशासित टोली घोषित हुदैं तीन हजार पायो । दनपा १० बाराकोटकी प्रिंयान्सी चन्दले उदयीमान खेलाडी चुनिदै एकहजार पुरुस्कार पाएको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताउनुभयो । 
 
शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाका सहयोगमा नगरखेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको थियो । 
 



जवाफ छाड्नुस्