हेलिकप्टरमार्फट सुत्केरी महिलाको उद्धार
०९ जेठ २०८०
संवाददाता
29

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका– १ रीमकी २६ वर्षीया सुत्केरी दमयन्ती भट्ट जोशीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
सोमबार राती जिल्ला अस्पताल बैतडीमा शल्यक्रियाद्वारा बच्चा जन्माएकी दमयन्तीको अत्याधिक रक्ताश्राव भएकाले जिल्ला अस्पताल बैतडीमा उपचार सम्भाव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो ।
उनलाई मंगलबार बिहान हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको उहाँले बताउनुभयो ।
दमयन्तीलाई बैतडीमै ६ युनिट रगत चढाएको र थप उपचारका लागि अन्यत्र रेफर गर्नुपरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्रसिंह डोबालले बताउनुभयो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दमयन्तीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत सुविधा सम्पन्न अस्पातलमा लगिएको हो ।
समस्यामा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तगर्त हेलिकप्टरमार्फत उद्धार गरिँदै आएको छ ।