सुदूरपश्चिम प्रदेशका लागि १४ अर्ब ४२ करोडको बजेट, कुन जिल्लामा कती ?

१७ जेठ २०८० संवाददाता 188

कैलाली- सुदूरपश्चिम प्रदेशलाई संघ सरकारले विभिन्न चार शीर्षकमा कुल १४ अर्ब ४२ करोड १९ लाख बजेट दिने व्यवस्था गरेको छ। संघीय सरकारले सुदूरपश्चिम प्रदेशलाई चालूतर्फ १० अर्ब ४२ करोड ९४ लाख र पुँजीगततर्फ तीन अर्ब ९९ करोड २५ लाख बजेट दिने व्यवस्था गरेको हो।
 
प्रदेशले समानीकरण अर्थात खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा दिइने अनुदान अन्तर्गत ८ अर्ब ५२ करोड तीन लाख, ससर्त अर्थात वित्त आयोगले तोकेका आयोजना कार्यान्वयनका लागि दिइने अनुदानमा चार अर्ब ५१ करोड १६ लाख, विशेष अर्थात संघीय सरकारले कुनै उद्देश्य राखी प्रदेश र स्थानीय तहबाट सञ्चालन गरिने खास आयोजनाका लागि दिइने अनुदानमा ६२ करोड र समपूरक अर्थात पूर्वाधार विकाससम्बन्धी कुनै आयोजना कार्यान्वयन गर्न दिइने अनुदानमा ७७ करोड अनुदान दिने व्यवस्था गरेको छ।
 
सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको थियो। सोहीअनुसार अर्थ मन्त्रालयले मंगलबार अन्तरसरकारी वित्तीय हस्तान्तरण बुक्स सार्वजनिक गरेको छ। सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले ९२ करोड ८५ लाख बजेट प्राप्त गरेको छ।
 
त्यस्तै चार नगरपालिका र ५ गाउँपालिका रहेको बाजुराले दुई अर्ब ५१ करोड २५ लाख, दुई नगरपालिका र १० गाउँपालिका रहेको बझाङले तीन अर्ब ७५ करोड १५ लाख, दुई नगरपालिका र ७ गाउँपालिका रहेको डोटीले तीन अर्ब ५ करोड ३२ लाख तथा चार नगरपालिका र ६ गाउँपालिका रहेको अछामले तीन अर्ब ६६ करोड ८५ लाख प्राप्त गरेको छ।
 
त्यस्तै दुई नगरपालिका र ७ गाउँपालिका रहेको दार्चुलाले दुई अर्ब ९१ करोड ८२ लाख तथा चार नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीले तीन अर्ब ७० करोड ८२ लाख बजेट प्राप्त गरेको छ।

त्यस्तै दुई नगरपालिका र ५ गाउँपालिका रहेको डडेल्धुराले दुई अर्ब २७ करोड १६ लाख, ७ नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरले तीन अर्ब ८२ करोड ८२ लाख तथा एक उपमहानगर, ६ नगरपालिका र ६ गाउँपालिका रहेको कैलालीले ६ अर्ब दुई करोड ६४ लाख बजेट प्राप्त गरेको छ।
 



जवाफ छाड्नुस्