मेरो आँखामा चमेलिया किनारको ऐतिहासिक साहित्य सम्मेलन

२४ जेठ २०८० संवाददाता 577



बैतडी- चौलानीको किनार बैतडीको गोकुलेश्वरबाट नजिकै अलिकति माथि उक्लिएपछि सेटीगाउँ कृषि क्याम्पस आउँछ । क्याम्पसको सभाकक्षमा आजको अवस्थामा सोच्नै नसकेको एउटा बृहत् कार्यक्रम चर्मण्यावती साहित्य सम्मेलन तथा नेपाल भारत काव्य गोष्ठी (२०८० जेठ १५ र १६ गते) सुसम्पन्न गरिएको छ , त्यो पनि गाउँ पालिकाको प्रवर्द्धनमा । 
 
यस कामका लागि गाउँ पालिका अध्यक्ष सन्तोषप्रकाश जोशी धन्यवादका पात्र हुनुहुन्छ । भाषा, साहित्य, कला एवम्  संस्कृतिलाई संरक्षण , सम्बर्द्धन एवम् सम्प्रेषण गर्न राज्यबाट जेजस्तो मात्रामा योजना तर्जुमा गरि कार्यक्रम गर्नुपर्ने हो भईनराखेको अवस्थामा डिलासैनी गाउँ पालिकाले भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा उल्लेखनीय कार्य गरेको छ । 
 
आफ्नो भाषा र संस्कृति बिर्सदै पाश्चात्य भाषा संस्कृतिमा रमाइरहेको वर्तमानमा आफ्नो भाषिक सांस्कृतिक पहिचानलाई सम्वोधन हुनेगरी कार्यक्रम सम्पन्न गर्नुले महत्त्वपूर्ण अर्थ राख्दछ । स्थानीयताको संरक्षण र  सम्बर्द्धन बिना मौलिकता संरक्षण गर्न सकिदैन भने मौलिकता बिना तत् क्षेत्रको पहिचान गुम्दै जान्छ । त्यसैले यसका लागि जो जहाँसुकै भएपनि आफ्नो पन र मौलिकताको प्रबर्द्धनमा सबैले आ–आफ्नो ठाउँबाट जागरुकतापूर्वक लागुपर्ने आवश्यकता टड्कारो देखिन्छ ।
 
भौतिक विकासलाई मात्रै विकास देख्ने बानी परेको हाम्रो आँखाले र त्यसैलाई मात्र विकास सम्झिने मानसिकताले सामाजिक विकास विनाको भौतिक विकासले कुनै माने राख्दैन भन्नेकुरो बुझ्न जरुरी देखिन्छ । गाउँ घर युवाविहिन बनाउँदै गरिएको भौतिक विकासको के नै अर्थ रहन्छ र  बाटोमा जिउँदाको जन्ती र मर्दाको मलामी जाने मान्छे नै छैन् , महलहरु मान्छेबिना खण्डहर छन् भने त्यो बाटो र त्यो महललाई मात्र विकास भन्नू मुर्खता बाहेक केही हुनसक्दैन ।
 
मौलिक, बैज्ञानिक तथा असल सामाजिक मूल्यमान्यता र व्यवहार एवम् सांस्कृतिक परम्परा हाम्रो समाजमा विद्यमान हुँदाहुँदै पनि समयसापेक्ष रुपान्तरण गरेर अङ्गिकार गर्नुपर्ने ठाउँमा चटक्कै बिर्सिएर पाश्चात्य संस्कृति अवलम्बन गर्दा आफुलाई सभ्य सावित गर्नखोज्नु हाम्रो मौलिक सभ्यता माथिको प्रहार नभएर के हो त ? यस्तो अवस्थामा शिक्षादिक्षाका हिसाबले हेल्थ असिस्टेन्ट HA  पढेको, कर्मक्षेत्रका हिसाबले स्वास्थ्यको अधिकृत भएको एक युवा चटक्कै जागिर छाडेर राजनीतिमा होमिदा कतिपयले बाटो बिराएको भनेको समेत सुनिन्छ । 
 
गाउँ बनाउने र चुनाव लड्ने चाहना राख्दाराख्दै उनी आबद्ध पार्टीले टिकट नदिँदा  स्वतन्त्र चुनाव लडेर जितेर अध्यक्ष बनेको होनहार युवा हो सन्तोषप्रकाश जोशी । ठूलाठूला दिग्गज भनिएका मानिएकाहरुले समेत यस्ता कार्यक्रम गर्न नसकेको अवस्थामा सानैदेखि काठमाडौंमा पढे हुर्केको युवाले आफ्नो संस्कृति र सभ्यताप्रति बिशेष चासो राख्दै गरेको चिन्ता र चिन्तन सह्रानीय छ । स्वभावले मिलनसार तथा मृदुभाषी बोलीबचन भएका संस्कृतिप्रेमी अध्यक्ष पाउनु गाउँ पालिकावासीको सौभाग्य हो ।

नेपालको राजनीतिमा राम्रो गर्न खोज्नेको खुट्टा तान्ने र सिध्याउने परिपाटी रहेको तथा भ्रष्टाचारमा लिप्त देखिएको राजनीतिक परिदृश्यमा "नङरा मान्सौ मुइँ जसा होझ्या"  भन्ने राजनीतिक व्यक्तिगत स्वार्थीहरुबाट सन्तोष जिले बचेर हिड्नुपर्ने अवस्था रहेको छ । उहाँ जस्तो युवा गाउँ समाजलाई चाहिएको छ , तसर्थ वर्तमानको कलुषित राजनीतिबाट जोगिएर जनता र जनजिविकाका सवालहरु सम्बोधन हुनेगरी राजनीति गर्न सके उहाँको राजनीति भविष्य उज्ज्वल देखिन्छ । 
 
नेपालको पहाडी क्षेत्र हावापानी र पर्यटकीय हिसाबले सम्भावना बोकेको क्षेत्र हो । त्यसमा पनि मानसखण्ड अन्तर्गतको सुदूरपश्चिम प्रदेशको इतिहास एवम् पुरातत्त्व खोज, अनुसन्धान, संरक्षण, सम्बर्द्धन तथा सम्प्रेषणको पर्खाईमा रहेको देखिन्छ । इतिहासको गर्भभित्र विद्यमान कतिपय कुराहरु प्रकाशनमा आउन बाँकी देखिन्छन् । जनताको अर्थात् लोकको मौलिक भाषा, साहित्य, कला, संस्कृति, इतिहास एवम् पुरातत्त्व न‌ै पहिचान हो , राष्ट्रियता सम्बन्धि विषयबस्तु हो । राष्ट्रियता भनेको भूगोल मात्रै होइन् भूगोल भित्रको संस्कृति र सभ्यता पनि हो । 
 
तसर्थ राष्ट्रियता जोगाउन लोकभाषा, साहित्य,कला र संस्कृति समेत जोगाउनु पर्दछ । उक्त बिषयलाई मध्यनजर गर्है राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखक र डिलासैनी गाउँ पालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीको सक्रियतामा आयोजित तथा प्रवर्द्धित चर्मण्यावती साहित्य सम्मेलनले देशैभरी सकारात्मक तथा महत्त्वपूर्ण सन्देश प्रवाहित गरेको देखिन्छ । यश सम्मेलनका उपलब्धिहरुलाई संस्थागत गरि आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता गरि एघार बुँदे घोषणापत्र  समेत जारी गरेर सम्मेलन समापन गर्नु महत्वपूर्ण पक्ष हो । 
 
सम्मेलनमा स्थानीय संस्कृति झल्किने झाँकीहरु मौसम प्रतिकुलताका कारणले प्रदर्शन गर्न नसकिएको जिकिर गरिएको कार्यक्रममा भाषा, साहित्य,कला, संस्कृति तथा इतिहास लेखन प्रकाशनका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएका बैतडीका स्रष्टा सर्जकहरुको सम्मानमा पुरस्कारहरु स्थापना गरि वितरण गर्नु एकदमै सह्रानीय कदम हो । 
 
केही कमीकमजोरीका वाबजूद पनि पहाडी क्षेत्रमा सफलतापूर्वक महत्त्वपूर्ण साहित्य सम्मेलन सम्पन्न गर्नु कम चानचुने बिषय होइन् । यसकालागि डिलासैनी गाउँ पालिका अध्यक्ष जोशी र गाउँ पालिका परिवार लगायत हेमबाबु लेखकको जति प्रशंसा गरे पनि थोरै हुन्छ । डिलासैनी गाउँपालिकाको पुण्यकार्यबाट सबैले सकेजति ग्रहण गर्ने प्रयत्न गरे राम्रै हुनेछ ।



जवाफ छाड्नुस्