अवैध रुपमा सञ्चालित बैतडीका तीन मेडिकल सिल, एकजना पक्राउ
१९ भदौ २०८०
संवाददाता
531

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाभित्र सञ्चालित तीनओटा मेडिकल सिल गरिएका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलिले गरेको अनुगमनको क्रममा अवैध रुपमा सञ्चालनमा रहेका तीनओटा मेडिकल सिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो।
दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँस्थित कबीर मेडिकल हल, खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको स्वास्थ्य प्रमुख भट्टले बताउनुभयो ।
यस्तै पञ्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ । स्वास्थ्य बिषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेकोले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यो बिषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको अनुगमन टोलीले मेडिकलहरुमा अनुगमन गरेको हो । मेडिकलहरुले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि विक्रि गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिहरुले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रिया समेत पूरा नगरेको पाइएकाले मेडिकलहरु सिल गरिएका स्वास्थ्य प्रमुख भट्टले बताउनुभयो ।