मेलौलीमा जनता आवास कार्यक्रममा कार्यविधि विपरीत लाभग्राही छनौट गरेको आरोप

०६ आश्विन २०८० संवाददाता 625




 
बैतडी– जनता आवास कार्यक्रम अन्तर्गत लाभग्राही छनौटमा विभेद गरेको भन्दै मेलौली नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको छ । वडा नं ६ का स्थानीयहरुले शुक्रबार मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दलाई भेटी ज्ञापन पत्र बुझाएका हुन् । 
 
स्थानीयहरुको हस्ताक्षरसहित बुझाइएको ज्ञापन पत्रमा जनता आवास कार्यक्रम अन्तर्गत छनौट भएका लाभग्राही कार्यविधि विपरीत छनौट गरिएको दाबी गरिएको छ । जनता आवास कार्यक्रमका लागि मेलौली नगरपालिका वडा नं ६ बाट भागरथी भट्ट छनौट भएकी छन् । 
 
छनौट भएका व्यक्ति भन्दा वडामा अरु नै विपन्न रहेका स्थानीय खेमराज भट्टले बताए । वडामा राजेन्द्र दमाई र सुरेन्द्र दमाई टुहुरा बालबालिका भएकाले उनीहरु यो कार्यक्रम समेटिनुपर्ने आफूहरुको माग रहेको भट्टले बताए । उनीहरु दुवै जना अहिले शहीद स्मृति शिक्षालय दिपायलमा अध्ययनरत रहेका छन् । 
 
नगर प्रमुखलाई बुझाएको ज्ञापन पत्रमा लाभग्राही छनौट गर्दा नातागोता हेरेर छनौट गरेको आरोप लगाइएको छ । जनता आवास कार्यक्रममा वडा अध्यक्षले आफ्नी भाउजुको नाम सिफारिश गरेको उनीहरुको आरोप छ । 
 
यता मेलौली नगरपालिका वडा नं ६ का वडा अध्यक्ष तारादत्त भट्टले जनता आवास कार्यक्रमका लागि छनौट भएका भागरथी भट्ट २० बर्षदेखि अर्काको घरमा बस्दै आएकी बताए । विपन्न भएकै कारण उनलाई जनता आवास कार्यक्रमका लागि छनौट गरिएको उनको दाबी छ । 
 
जनता आवास कार्यक्रमका लागि छनौट भएकी भागरथीको अवस्थाका बिषयमा स्थलगत रुपमा आएर अध्ययन गर्न समेत आफूले सबैलाई आग्रह गरेको वडा अध्यक्ष भट्टले बताए । उनले भने ‘मेरो भाउजु नाता पर्ने हुन् । मेरो गाउँले सबै नातेदार छन् । मेरो नातेदार हुने बित्तिकै विपन्न छैनन् भन्न पाइदैन् ।’
 
यस्तै ज्ञापन पत्रसंगै नगर प्रमुखलाई बुझाएको हस्ताक्षर पनि फर्जी रहेको वडा अध्यक्ष भट्टले दाबी गरे । सडक सफाइका लागि भन्दै स्थानीयहरुको हस्ताक्षर संकलन गरेर नगरपालिकामा बुझाएको वडा अध्यक्षको आरोप छ । 
 



जवाफ छाड्नुस्