बैतडीको एक यस्तो स्वास्थ्य चौकी, जहाँ बिरामी आउँदा साइरन बज्छ

०९ आश्विन २०८० संवाददाता 1431


बैतडी– बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीले स्वास्थ्य संस्थामा सेवाग्राही आउँदा ‘साइरन’बज्ने व्यवस्था गरेको छ ।

जिल्लाको दुर्गममा रहेको स्वास्थ्यचौकीले नागरिकहरुलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदानका लागि यस्तो व्यवस्था गरेको हो । 

 
स्वास्थ्यचौकी इन्चार्ज सुरेश सार्कीले आफ्नो व्यक्तिगत २६ हजारको लगानिमा स्वास्थ्यचौकीमा साइरनसहित सीसी क्यामेरा जडान गर्नुभएको छ । 
 
स्वास्थ्यचौकीमा चारै कुनामा क्यामेरा राखिएको र स्वास्थ्यचौकीमा सेवाग्राही आउँदा साइरन बज्ने गरेको उहाँले बताउनुभयो । 
 
सेवाग्राहीलाई स्वास्थ्य संस्थाभित्र छिर्ने वित्तिकै आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सकियोस भनेर साइरन जडान गरिएको सार्कीले बताउनुभयो ।
 
यस्तै पञ्चेश्वर स्वास्थ्यचौकीले बालबालिकाहरु खोपबाट बञ्चित नहोउन भन्नका लागि सबै बालबालिकाहरुको तथ्यांक राखेको छ ।



खोप लगाउने उमेर समूहका बालबालिकाहरुको तथ्यांकका आधारमा उनीहरुको अभिभावक र महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा एसएमएस जाने सिस्टम बनाइएको स्वास्थ्यचौकी प्रमुख सार्कीले बताउनुभयो । 

 
पञ्चेश्वर स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्रका स्वास्थ्य आमा समूहलाई सक्रिय बनाउनका लागि स्वास्थ्यकर्मीहरुको सहभागिता रहने गरेको सार्कीले बताउनुभयो । 
 
पञ्चेश्वर स्वास्थ्यचौकीले गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका लागि नौलो अभ्यास गरेको भन्दै स्वास्थ्य कार्यालयले इञ्चार्ज सार्कीले पुरस्कृत र सम्मानित समेत गरेको छ । 
 
स्वास्थ्य संस्थामा साइरन जोडेको, बन्द रहेको प्रसुती सेवा चौबिसै घण्टा सञ्चालन गरेको, स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड पालिकाभरीको उत्कृष्ट स्वास्थ्य संस्था बनाएको, सम्बन्धित निकायसंगको समन्वयमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेकाले पुरस्कृत गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
 



जवाफ छाड्नुस्