बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जनाको मृत्यु
०२ मंसिर २०८०
संवाददाता
116
बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ३ घोडेधारमा शनिबार बिहान से १ ज ६०३ नम्बरको जिप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीका ३५ बर्षीय अम्मर बिष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताउनुभयो ।
कटौजपानीबाट सिल्लेगडातर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो । सो दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जनाको अवस्था मध्यम रहेको छ ।
दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीकी ३० बर्षीया कलावती बिष्ट र ४५ बर्षीया हिरा बिष्ट गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । दुवैको टाउको र छातीमा चोट रहेको छ ।
यस्तै दुर्घटनामा परी दोगडाकेदार ८ कटौंजपानीकै ६० बर्षीय पदम बिष्ट, ७ बर्षीया सुशीला बिष्ट र ४ बर्षीय रियाज बिष्ट पनि घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा ल्याइएको छ ।
जिप चालक दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीका सुरेन्द्र बिष्ट फरार रहेका र उनको खोजी भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।
उकालो ब्रेक फेल भएर २० मिटर पछाडि आएर जिप सडकमै पल्टिएको हो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।