पुर्खौदेखिको बाँझो खेतमा रोपाँईको रौनक

१६ श्रावण २०७८ नरी बडु 1013


बैतडी–
दशरथचन्द नगरपालिका– १० स्थित तीर–खडेनी खेतमा शुक्रबार रोपाँई भयो भन्दा झट्ट पत्याउन गाह्रो हुन्छ । किनकी कुनै पनि असम्भव काम छ भने, उक्त काम र तीर खडेनीको रोपाँईलाई संगैँ तुनाना गरिन्थ्यो । नेपाल–भारत सिमानाका माहाकाली किनारको यो खेतमा रोपाँई असम्भव थियो । पानी अभावका कारण पुखौँदेखि बाँझो रहेको यो खेतमा यसपटक भने हर्सोउल्लासका साथ रोपाँई भएको छ । 
 

नेपाल–भारतका स्थानीयतहका जनप्रतिनिधिले सयुक्त रुपमा साउन–१५ को अवसरमा खिर खाएर बैतडीको तिरखडेनीमा सयुक्त रोपाइँ गरेका छन् ।  तिरखडेनीमा महाकाली नदीको पानी लिफ्ट गरेर सिँचाई सुविधा पुगेपछि मकै भाँचेर पहिलो पटक गाउँमा रोपाइँ भएको हो । पहिलोपटक आफ्नै खेतमा रोपाँई भएको देखेपछि यहाँका स्थानीयमा खुसियाली छाएको छ । 


बाजगाजा सहित गरिएको रोपाइँ कार्यक्रममा बैतडीको दशरथचन्द नगरपाकिलाका नगर प्रमुख नरेन्द्रसिंह थापा, जिल्ला समन्वय समितिका संयोजक सिद्धराज भट्ट, नेपाली काँग्रेस बैतडीका उप सभापति चतुरबहादुर चन्द र भारतको पिथौरागढ जिल्लाको बलतडी ग्राम सभाका सभापति गोपी राम, सदस्य उमेशचन्द्र भट्ट लगायत सहभागी थिए ।

छेउमै महाकाली बगे पनि पुखौँदेखि आकाशे पानीको भरमा खेतीगर्दै आईरहेका तिरखडेनी वासीले पहिलो पटक महाकालीको पानीबाट रोपाइँ गर्न  पाएपछि लिफ्ट सिँचाई योजना निर्माण गर्ने संस्था रुडेसका पदाधिकारीलाई फुलमाला र बाजागाजा सहित स्वागत गरेका थिए । 
 

महाकालीनदीको पानी लिफ्ट गरेर गाउँमा सिँचाई पुगेपछि एक वर्षमा तीन वटा खेतीगर्न पाएको स्थानीय महिला किसान शान्ति बुडालले बताउनुभयो । अगुवा माहिला किसान बुडालले भने, –‘ छेउमै महाकालीनदी बगे पनि गाउँमा पानीको हाहाकार थियो । आकाशे पानीको भरमा वर्षमा मुश्किलले दुईवटा खेती हुन्थ्यो ।
 
अहिले महाकालीको पानीलिफ्ट गरेर गाउँमा सिँचाई सुविधा पुगेपछि एक वर्षमा तरकारी खेती, गहुँबाली र मकै बाली भित्र्याएर अहिले चौथो बालीको रुपमा रोपाइँसमेत गर्न भ्याएका छौं । लिफ्ट सिँचाई निर्माण गर्ने रुडेस संस्थालाई भउतै धन्यवाद छ ।’ खिर खाएर तिरखडेनी गाउँमा रोपाइँगर्न सहभागीहुनु भएका बैतडीको दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्रसिंह थापाले महाकाली नदीबाट पानी लिफ्ट गरेर सिँचाई योजना निर्माण गर्ने स्थानीय रुडेस संस्थालाई धन्यावाद दिए ।
 
नरप्रमुख थापाले भन्नुभयो,‘नगरपालिकाले १५ लाख रुपियाँ बजेट बिनियोजित गरेको थियो । महाकाली नदीबाट पहिलो पटक नेपाली गाउँमा लिफ्ट सिँचाई योजना पूरा गर्न सामाजिक संस्था रुडेसले प्राविधिक सहयोग गरेकोमा निकै खुशीलागेको छ ।’ पहिलो पटक महाकाली नदीको पानी लिफ्ट गरेर नेपाली गाउँमा सिँचाई पुर्याउन निकै संघर्ष गर्नु परेको स्थानीय सामाजिक संस्था रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्द राज जोशीले बाताउनुभयो ।

 
जोशीले भन्नुभयो,‘हामीले अक्सफाम नेपालको सहयोगमा महाकालीनदी तटीय क्षेत्रका बासिन्दाका लागि सीमानदीको पानीको सदुपयोग परियोजना  (ट्रोसा) सञ्चालन गरिरहेका छौं । सिमा नदीको पानी उपयोग गरि आयआर्जनका लागि बाटो खोल्ने दशरचन्द नगरपालिका पहिलो हो । टोसा कार्यक्रम सुदूरपश्चिमका चार जिल्लामा संचालित छ । नदी तटीय क्षेत्रका स्थानीयका समस्या पहिचान गर्ने क्रममा तिरखडेनी गाउँका महिलाले छेउमै महाकाली नदी बगे पनि गाउँमा पानीको हाहाकार भएको गुनासो गरे ।
 
खेतबारी बाँझो थियो,’ कार्यकारी निर्देशक जोशीले अगाडि भने ,‘ समुदायका समस्या पहिचान गरेर स्थानीय सरकार, प्रदेश सरकार र संङ्घीय सरकारसम्म समस्या राख्यौं । सबै तहको सहकार्यमा महाकाली नदीबाट पहिलो पटक पानी लिफ्ट गरेर बैतडीको तिर खडेनी गाउँमासिँचाई पुर्याउनन सफलभयौं ।’महाकाली नदीको पानीलिफ्ट गरेर नेपालको बञ्चरखेत सिंञ्चित भएको देख्दा निकै खुशी लागेको भारतको पिथौरागढ जिल्लाको बलतडी ग्राम सभाका सभापति गोपी रामले बताउनुभयो ।

 
सभापति गोपी रामले भने ,‘मित्र राष्ट्र नेपालले महकाली नदीको पानी लिफ्ट गरेर बञ्जर खेत हराभरा गरेको छ । यस्तो रचनात्मक कामबाट महकाली किरानमा बसोबास गर्ने भारतीयले पनि प्रेरणाका रुपमा लिएका छौं । हामीपनि अब नेपालबाट सिक्ने छौं ।’कार्यक्रममा सहभागी नेपाली काँग्रेस बैतडीका उप सभापति चतुरबहादुर चन्दले लिफ्ट सिँचाई योजनाको दिगोपनामा जोड दिदैं महाकाली नदीको पानी पहिलो पटक नेपाली गाउँमा उपभोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।


पानी अभावका कारण खेत बाँझो भएपछि बसाई सरेका तीरखडेनीवासी पुख्र्यौली भुमी फर्किने समेत विश्वास गरिएको छ । अहिले यहाँका अधिकासं खेत बाँझो छन् । माहाकाली नदी किनाराका अधिकासं खेत पानी अभावका कारण बाँझो छन् । 



जवाफ छाड्नुस्