अधुरो प्रेम लघु कथा
०६ भदौ २०७८
संवाददाता
1513

राधाको साथी एकाबिहानै मलाई भेट्न आई । राधाले मलाई चिठी पठाएकी रहिछ । उत्सुकताले चिठी खोले । उसका सुन्दर अक्षरहरु धेरै पछि देख्दै थिएँ । उसले १५ गतेको दिन राप्ती नदिको तिरमा भेट्न आउनु भनेर निमन्त्रणा पठाएकी थिई । राप्ती नदी जस्को तिरमा बसेर हामी पहिले घण्टौ सम्म मायाका शब्दहरू, प्रेमका कुराहरु सुन्ने र सुनाउने गदथ्यौँ । अनि नदिको निर्मल पानी छोएर हाम्रो प्रेम सम्बन्ध गहिरो बनाउने र सातौं जुनि संगै काट्ने कामना गर्दै प्रेमको बाचा र बन्धनहरु बाँधेका थियौं ।
राधाको बिहे भएको दुई वर्ष भैसकेको थियो । कुनै समय हामी एक अर्कालाई असाध्यै माया गर्दथ्यौँ । आफ्ना बुवा–आमाले रोजेको केटा बिबाह गर्न राधालाई दबाब भएपछि उसले अर्कैसंग बिबाह गरेकी थिई । बिबाह पछी म संग सम्पर्क बिहिन भएकी राधाको आज एक्कासि चिट्ठी आउँदा म वर्षौं पछि कोमा बाट ब्युझेको बिरामी जस्तै भएको थिएँ । उ मेरो साथमा नहुदा पनि उसका यादहरु संगै थिए म संग ।
अन्ततः १५ गतेको दिन आयो । म घरबाट बिहान ९ बजे निस्केको थिएँ । यात्रामा अनेकौं बिगतका पलहरु याद आइरहे । मनभरी राधाको माया, नयन भरी उसलाई हेर्ने इच्छा बोकि उसलाई भेट्न अगाडी बढिरहेँ । राप्ती नदिको तिर पुगेँ । केही मान्छेहरूको भिडमा राधाको मुहार खोज्दै हुलमा पसेँ । करिब बीस मिनेट पछि उसलाई एउटा रुख नजिकै उभिरहेको देखेँ । नजिक पुगेँ । गाढा निलो रङ्गको साडिमा आएकी थिइन् । ठुला–ठुला आँखामा गाजल । लामो नबाँधिएको सिल्की कपाल । ओठमा हल्का गुलाफी रङ्गको लिपिस्टिक, निधारको बिचमा कालो बिन्दी ।
अनि सिउँदोमा सिन्दुर । अझै पनि त्यतिकै राम्री देखिएकी थिइन्। उनलाई वर्षौं पछि देख्न पाउँदा मन भक्कानिएर आयो । आँखाबाट आँसु वर्षिन थाले । आफुलाइ सम्हालेँ । उनको अनुहारमा पनि पश्चातापको भाव देखिन्थ्यो । एकछिनको मौनता पछि राधा बोलिन्, जाँउ हिँड पुल माथी । मनमा अनेकौं प्रश्नहरू थिएँ मसंग राधालाइ गर्नलाई तर ती प्रश्नहरू मनमै कैद भएर बसिरहे, मुखमा ल्याउन सकिनँ या भनौं चाहीनँ । म मौन बसिरहेँ। दुबै पुल नजिक पुग्यौँ । उनले सोधेकी थिइन्,“राज ! यो नदि कत्तिको गहिरो होला ? “धेरै गहिरो! यस्को गहिराई नाप्नै सकिदैन जसरी मेरो मुटुमा तिम्रो माया छ त्यसरी।“, मैले यसो भन्दा उनी मलाई दयालु भावले हेरिरहेकी थिइन् । अनि एकछिन पछि आफै ठट्टा गर्दै बोलिन्,“मानौँ यदि यो पुल तिमी र म तर्दै गर्दा अहिले बिचबाट चुड्यो रे! अनि तल नदिमा खस्यौँ रे हामी । तिमी के गर्थ्यौ?“ मैले पनि फ्याट्टै जवाफ दिइहालेँ,“आनन्दले पानीमा डुब्थे होला ।
तिमी संग संगै जिउन त सकिन, कमसेकम संगै मर्ने अवसर त मिल्थ्यो । मैले यसो भनिरहदा उसका जोडी नयनहरु आँसुले रसाएका थिए । फेरि सोधिन् –मलाई अझै माया गर्छौ ? माया कति गर्छौ भनेर नसोध, मन टुटेको हो माया टुटेको छैन ।, मैले लामो श्वास लिदै जवाफ फर्काए । राधाले कुरा अर्कैतिर मोड्न आफ्नो मोबाइल खोल्दै आफ्नो छोरीको फोटाहरु देखाउदै भनिन् मेरो छोरीलाई हेर । आउने असोजमा दुई वर्ष पुग्छिन् । मैले तस्वीर हर्दै भनेँ, निकै सुन्दर । तिमी भन्दा पनि ।
डाँडा माथिको घाम डुब्नै लाग्दा राधाले छुट्टिने प्रस्ताव गरिन् । छुट्टिनै लाग्दा राधाले भनिन्, अब तिमी पनि बिहे गर, राज म केही नबोली फिस्स हास्दै आफ्नो गन्तव्य तिर पाइला बढाएँ । उनी दायाँ पट्टीको बाटो र म बायाँ पट्टिको बाटो भएर छुट्टियौँ । छिनभरमै उनी मेरो आँखा अगाडिबाट हराइन् ।
यो लघु कथा स्वास्थ्यकर्मी राजेस विकले लेखेका हुन् ।