विद्यार्थीमा कोरोना देखिएपछि तीन दिनका लागि विद्यालय बन्द
२० मंसिर २०७८
संवाददाता
549

बैतडी- विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको पाटन नगरपालिका–४ स्थित भूमेश्वर मावि ठाँड ३ दिनका लागि बन्द गरिएकाे छ । कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो।
मङ्सिर २१ गतेसम्मका लागि विद्यालय बन्द गरिएको र विद्यार्थीलाई कोरोना परीक्षण गराउन आग्रह गरिएको विद्यालयकी शिक्षिका सुशीला भण्डारीले जानकारी दिनुभयाे।
विद्यालयका अन्य विद्यार्थी र शिक्षक सबैको कोरोना परीक्षण गरिने भएको छ। बैतडीमा हाल कोरोनाका ४ जना सक्रिय सङ्क्रमित रहेका छन्। सक्रिय सबै पाटन नगरपालिकाकै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ छिमेकी देश भारतमा समेत देखा परेकाले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ।
भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा कोरोनाका कारण हालसम्म १८ जनाको मृत्यु भइसकेको छ।