सूचना उपलब्ध नगराएको भन्दै गाउँपालिकामा तालाबन्दी

बैतडी- माग गरेका सूचना उपलब्ध नगराएको भन्दै बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको छ । स्थानीय युवाहरुको समुहले गाउँपालिकामा तालाबन्दी गरेका हुन् । गाउँपालिकाले संचालन गरेका विभिन्न कार्यक्रम र बजेट सम्बन्धि सूचना माग गर्दा नदिएको भन्दै तालाबन्दी गरिएको स्थानीय युवा विशाल भट्टले बताउनुभयो ।

सुर्नया गाउँपालिकाले असोज २४ गते (आज) सार्वजनिक सुनवाई कार्यक्रम समेत आयोजना गरेको थियो । माग गरेको सूचना उपलब्ध नहुँदा सम्म कुनैपनि कार्यक्रम र गाउँपालिकाको सेवा संचालन हुन नदिने भन्दै असन्तुष्ट युवा तथा स्थानीयको समुहले तालाबन्दी गरेका हुन् । त्यसपछि आजका लागि आयोजना गरिएको सार्वजनिक सुनुवाई समेत स्थगित गरिएको छ । पटक–पटक गाउँपालिकासंग सूचना माग गर्दा समेत सूचना उपलब्ध गराउन आनाकानी गरेको असन्तुष्ट समुहको गुनासो छ ।

जनताको गुनासो सुन्नका लागिनै सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको भएपनि कार्यक्रम गर्न नदिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो ‘उहाँहरुका माग र गुनासो सुन्नकै लागि कार्यक्रम आयोजना गरेका हौँ, तर कार्यक्रमनै गर्नु हुँदैन भन्नु राम्रो होइन।’

सूचना दिन ढीलाई भएको स्वीकार गर्दै गाउँपालिकाकाका सूचना अधिकारी रामसिंह महराले भने युवाहरुले माग गरेअनुसारको सूचना तयार गरेको भएपनि बुझ्न नआएको बताएका छन् । उहाँले भन्नुभयो, ‘केही कर्मचारी र जनप्रतिनिधिका भत्ता लगायतका खर्च विवरणहरु लेखापाल र कार्यालय प्रमुख नहुँदा तयार गर्न समय लागेको हो, अरु सूचनाहरु हामीले तयार गरेका छौँ तर तयार गरेको सूचना लगेनन्, बाँकी सूचना समेत कार्यलय प्रमुख र लेखापाल आउनेवित्तिक्कै दिन्छौँ ।’

असन्तुष्ट समुहले भने माग भन्दा पनि फरक सूचनाहरु उपलब्ध गराएको बताएका छन् । गाउँपालिकाको बजेट विनियोजन, मसलन्द खर्च, कर्मचारी तथा जनप्रतिनिधिको भत्ता, इन्धन खर्च, घरभाडा लगायतका बारेमा स्थानीयहरुले सूचना माग गरेका थिए । असन्तुष्ट समुहले माग गरेका दिन मिल्ने सबै सूचना दिने गाउँपालिका अध्यक्ष कुँवरले बताउनुभयो । मैले दिन मिल्ने सबै सूचना दिन भनिसकेको छु, कार्यालय प्रमुख र लेखापाल आउने वित्तिक्कै उहाँहरुले माग गरेको सूचना पाउनुहुन्छ ।’

केहि व्यक्तिहरुले भने राजनीतिक प्रतिसोध लिएर गाउँपालिका अध्यक्षलाई जनताको गुनासो सम्बोधन गर्न नदिएको आरोप लगाएका छन् । पछिल्लो समय सुर्नया गाउँपालिकाका जनप्रतिनिधिहरुबिचमा समेत कार्यगत तालमेलको अभाव रहेको र त्यसको मारमा जनता परेको उनिहरुको गुनासो छ । अध्यक्षलाई जनताको गुनासो सम्बोधन गर्ने वातावरण विथोल्न नहुँने उहाँहरुको मत थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रम गर्न नदिने असन्तुष्ट समुहको अडानपछि गाउँपालिका अध्यक्षले पत्रकार सम्मेलन मार्फत जनतालाई केही कुरा स्पष्ट पार्न जरुरी भएको भन्दै पत्रकार सम्मेलनको आयोजना गरेका थिए । असन्तुष्ट समुहले पत्रकार सम्मेलन समेत विथोलिदिएका थिए ।

प्रतिक्रिया छाेड्नुहाेस्