बैतडी- मर्यादित महिनावारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राधा पौडेल फाउन्डेसनको सहयोग तथा मर्यादित महिनावारी अभियान नेपालको आयोजनामा स्वास्थ्यकर्मि तथा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

स्वास्थ्य कार्यालय बैतडीको सभाहलमा आयोजना गरिएको कार्यक्रममा मर्यादित महिनावारी, महिनावारीको समयमा हुने विभेद, समाजिक परिवेश लगायतका बारेमा छलफल गरिएको थियो । समाजमा महिनावारीप्रतिको धारण र यसको सकारात्मक बुझाईका बारेमा समेत कार्यक्रममा छलफल गरिएको मर्यादित महिनावारी अभियान नेपालकी सुदूरपश्चिम संयोजक निरु टेरले बताउनुभयो ।

तुलनात्मक रुपमा केहि परिवर्तन भएपनि अझैपनि महिनावारीप्रति समाजले हेर्ने धारणामा सकारात्मक परिवर्तन आउन नसकेको उहाँले बताउनुभयो । महिनावारी महिलाको शारीरिक परिवर्तनसंगै आउने जैविक प्रक्रिया भएकाले यसलाई विभेदको रुपमा नभई वरदानको रुपमा लिनुपर्ने वरिष्ट जनस्वास्थ्य अधिकृत योगेश भट्टले बताउनुभयो । महिनावारीप्रति समाजको धारणा परिवर्तन गर्न आफु र आफ्नो परिवारबाटै परिवर्तनको सुरुवात गर्नुपर्ने स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख तिर्थराज भट्टको भनाई थियो ।












