बैतडी : मेलौली नगरपालिकाले एक महिनामा ५९ लाख बढीका कोटेसन मार्फत काम गराएको छ । नगरपालिकाले गत आर्थिक वर्षको जेठ अन्तीममा निर्माणका विभिन्न योजना बनाएर आठ कोटेसन मार्फत सो रकम वितरण गरेको पाइएको छ ।
विभिन्न साना साना योजना बनाएर ५९ लाख ४० हजार ६५२ रुपयाँका कोटेसन वितरण गरेका भएपनि ५२ लाख ६ हजार मात्र खर्च गर्न सकेको नगरपालिकाले जनाएको छ ।
असार २४ गते देसभरीका सम्पूर्ण कारोबारका खाता वन्द हुने हुँदा नगरपालिकाले जेठ अन्तीममा वितरण गरेका यि कोटेसन मार्फत कस्तो गुणस्तरमा काम गरिएको होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
कोटेसन पाउने फर्मको नाम नगरपालिकाले गोप्य राखेको छ । यसवाट एउटै फर्मलाई दुई तिन कोटेसन पनि वितरण गरेको अनुमान गर्न सकिन्छ । कोटेसन बाट प्रखाल, सडक सरसफाई र पलम्ब कंन्क्रिट को काम गरिएको छ । खास गरेर कोटेसन आफन्तहरुलाई पोस्नुको लागि जनप्रतिनीधी र कर्मचारीहरुले दिने गर्दछन् ।
ठुला ठेक्का लगाएको र ति ठेक्काहरुमा घटाघटीमा निर्माण व्यवसायी गएकाले त्यसमा बाचेको रकमको कोटेसन मार्फत काम गराएको नगरपालिकाका नगर प्रमुख भिम बहादुर चन्दले बताउनु भयो ।
कोटेसन वितरण गर्दा आफु संग कुनै सल्लाह नभएको र अनुगमन गर्न जाँदा प्राविधिकहरुले यो काम कोटेसन मार्फत गराएको हो भनेपछि मात्र थाहा भएको नगर उपप्रमुख पार्वती बोहरा विष्टले बताउनु भयो ।
कोटेसन मार्फत काम गराएको योजनामा झन गुणस्तरिय काम भएको नगर प्रमुख चन्दले दावी समेत गर्नु भयो । उनले भने “धेरै कोटेसनको काम असारमा नसकिए पछि भुक्तानी वाकीमा राखेर समेत काम गराएका छौ” ।
प्रमुख चन्दले जती गुणस्तरको दावी गरेपनि कोटेसन आफन्त र आसेपासेलाई मिलाउनको लागिनै वितरण गरिन्छ । नत्र भने ति योजनामा कोटेसन भन्दा पनि उपभोक्ता समति र ठेक्का मार्फत काम गराउन सकिन्छ । सार्वजनिक खरिद ऐनमा सिलवन्दी दरभावपत्रको व्यवस्था गरिएपनि स्थानीयतहमा त्यस ऐन अनुसार खरिद गरिएको पाईदैन् ।












