भारतीय दुतावासको सहयोगमा बन्दै भुमेश्वर माविको भवन

बैतडी- भारत सरकारको सहयोगमा निर्माण हुने भनिएको पाटन नगरपालिका– ४ स्थित भुमेश्वर माद्यमिक विद्यालय भवनको आज औपचारिक शिलान्यास गरिएको छ । १२ कोठे नयाँ भवन निर्माण कार्यको औपचारिक रुपमा शुक्रबार शिलान्यास गरिएको हो।

नेपालस्थित भारतीय राजदुतावासका प्रथम सचिव अभिनाशकुमार सिंह र पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले संयुक्त रुपमा उक्त भवन निमार्ण कार्यको शिलान्यास गरेका हुन् ।

आगामी १६ महिनामा सक्ने गरेर भवन निर्माणको अगाडी बढ्ने भुमेश्वर माविका प्रधानाध्यापक विरेन्द्र चन्दले बताउनुभयो । नेपाल भारत विकास सहयोग अन्तर्गत भारत सरकारले नेपालस्थित भारतीय राजदूतावासबाट ४ करोड बजेट पाटन नगरपालिकालाई उपलब्ध गराएको छ । ठेक्का प्रक्रियामा ठेकेदार कम्पनीले ३ करोड ८० लाखको लागतमा भवनको निर्माण गर्ने पाटन नगरपालिकाका इन्जिनियर गोविन्द पन्तले बताउनुभयो ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै भारतीय राजदुतावासका प्रथम सचिव सिंहले नेपाल भारत विकास सहयोग अन्र्तगत विद्यालय बस, एम्बुलेस तथा विद्यालय भवन निमार्णमा आर्थिक सहयोग गरिरहेको बताए । नेपाल भारतको असल छिमेकी भएकाले सहयोगको दायरा बढाउँदै लगिएको उहाँले बताउनुभयो । बैतडीमा अहिले एउटा बिद्यालय भवन निमार्ण सुरु गरिएको छ भने सुर्नया गाउँपालिकालाई एम्बुलेस वितरण गरिएको उहाँले बताउनुभयो । सुर्नयासहित ५ ओटा ठाउँमा एम्बुलेन्स वितरण गरिएको सिंहले बताउनुभयो ।

कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका नगरप्रमुख रावलले भारत सरकारले गरेको सहयोगको प्रंशसा गर्दै नियमित सहयोगको अपेक्षा समेत गरेका छन् ।

कार्यक्रममा बैतडीका प्रमुख जिल्ला अधिकारी भिमकान्त न्यौपाने, जिल्ला समन्वय समिति बैतडीका पूर्व प्रमुख सिद्धराज भट्ट लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्