केरलमा बाढीपहिरोको कहर : १ नेपाली बालकसहित कम्तीमा ५० जनाको मृत्यु

बैतडी- भारतको केरल राज्यको वायनाडमा बाढीपहिरो जाँदा १ नेपाली बालकसहित कम्तीमा ५० जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार बिहान वायनाड जिल्लाको मेप्पाडी क्षेत्रमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परीले ठूलो क्षति पुर्‍याएको हो ।

टाइम्स अफ इन्डिया र एनडीटीभीका अनुसार थोन्डरनाड क्षेत्रमा एक नेपाली परिवारका १ वर्षीय बालकको मृत्यु भएको हो ।

मंगलबार बिहान वायनाडको पहाडी क्षेत्र मुंडक्कई र चूरलमाला क्षेत्रमा पहिरो गएको हो । पहिरोका कारण गाउँसम्म जाने बाटो र पुल बगाएपछि सुरक्षाकर्मीहरूले अस्थायी पुल बनाएर उद्धारका लागि पुगेको केरलको स्थानीय समाचारसंस्था मनोरमाले जनाएको छ ।

मनोरमाका अनुसार ७० जनाभन्दा बढीलाई अस्पताल लगिएको छ । त्यस्तै बाढी पहिरोका कारण ४ सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।

बाढीपहिरोमा फसेका २५० भन्दा बढीलाई उद्धार गरिएको छ । केरलका मुख्यमन्त्री पिनराई विजयनले वायनाडमा उद्धारका लागि सबै लागिसकेको बताएका छन् । त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री कार्यालयका अनुसार मृतकका परिवारलाई प्रतिपरिवार २र२ लाख रुपैयाँ र घाइतेलाई ५० हजार उपलब्ध गराइने छ ।

वायनाडका सांसदसमेत रहेका भारतीय प्रतीपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले यूडीएएफका कार्यकर्तालाई उद्धार कार्यमा लाग्न आग्रह गरेका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्