कैलाली– कैलालीमा एक जनाको अपहरण गरिएको छ । कैलालीको चिसापानीबाट मोहन्याल गाउँपालिका वडा नम्बर ७ पितमारीबाट लोकेन्द्र चौधरीको अपहरण भएको हो ।
गाडीका सहचालक रहेका उनलाई अपहरण गरिएको बताइएको छ । लम्की–चिसापानी क्षेत्रका युवाहरूले दाउरा बोकेको गाडीका सह–चालकको अपहरण गरिएको परिवारले आरोप लगाएका छन्।
सोमवार राति पितमारी खोलामा कचाली गाउँबाट दाउरा बोकेर आउदै गरेको भे १ च ३७१४ नम्बरको गाडीका चालक २५ वर्षीय अनुराज चौधरीलाई कुटपिट गरिएको थियो। सोही गाडीका सह–चालक लम्कीचुहा नगरपालिका–९ का लोकेन्द्र चौधरीलाई चार/पाँच जना युवाको समूहले आफूसँगै लिएका हुन्। अनुराजको टाउकोमा चोट समेत लागेको बताइएको छ ।
चौधरीका परिवारले लम्कीचुहा नगरपालिका–३ चिसापानीका २४ वर्षीय भावेश सापकोटा, २८ वर्षीय नारायण शाही लगायतका युवाहरूको विरुद्धमा घटनाको आरोप लगाएका छन्। नारायण शाहीलाई प्रहरीले पक्राउ गरिएको छ ।
चौधरीको अवस्था भने अझै अज्ञात रहेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता गंगादत्त बडूले घटनाको विषयमा अनुसन्धान जारी रहेको बताउनुभयो ।
चिपासानी प्रहरी र सशस्त्र बेस क्याम्प डुडेझारीको टोलीले उनीहरूको खोजी गर्दै छ ।








