बैतडी– बैतडीमा शनिबार बिहान जीप दुर्घटना भयो । जिल्लाको सिगास गाउँपालिका–१ माण्डौमा सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप दुर्घटना हुँदा २ जनाको ज्यान गयो भने, ४ जनाको अवस्था गमभीर छ ।
सो दुर्घटनामा परि सिगास गाउँपालिका–१ इरानाका १४ वर्षिय जयन्ती धामी र १९ वर्षिय पार्वति धामीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनी दुबै जनाको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यस्तै सो दुर्घटनामा परि सोहि ठाउँका ४० बर्षिय तुलसी धामी, १६ बर्षिय निरा धामी, १८ वर्षिय कमला धामी र १४ बर्षिय भागरथि धामी घाइते भएको प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले बताए ।
निरा धामीलाइ भने थप उपचारका लागि धनगढीको निसर्ग अस्पतालमा रेफर गरिएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।
कसरी भएको थियो दुर्घटना ?
सो गाडी जन्तीमा गएको बुझिएको छ । शनिबार विहान गाडी साहु समेत रहेका चालक गगन धामी सुतेका थिए । उनी सुतेको समयमा चावि लिएर खलासी जयन्त बोहराले जीप चलाएको सीगास गाउंपालिका–१ का वडा अध्यक्ष रामचन्द ऐरीले बताए ।
उनले भने, “चालक सुतेको समयमा चावि ल्याएर जयन्तले जीप चलाए । जीप विहेमा गएको थियो । घाइते र मृतक उनका आफन्त तथा चिनजानका नै हुन् ।’’
जन्तीबाट घर फर्किदा आफुले पुर्याइदिन्छु भन्दै जयन्तले जीप चलाएको उनले बताए । घर पनि धेरै टाढा नभएको, विहेको घरबाट ५ सय मिटरको दुरीमा मात्रै उनीहरुको घर रहेको बुझिएको छ ।
जयन्तले म पुर्याइदिन्छु घर भनेपछि उनीहरुपनि गाडी चढेको बताइएको छ । भीरको ठाउँमा कच्ची र साँघुरो सडक हुँदा दुर्घटना भएको बताइएको छ ।
शनिवार बिहान ४ बजे जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको थियो । जयन्तले कहिले काहिँ मात्रै गाडी चलाउने तर खासै चालक नरहेको अध्यक्ष ऐरीले बताए ।
जयन्त पनि घाइते भएका छन् । उनको पनि उपचार भएरहेको छ । जीपमा पुर्ण क्षती भएको छ ।
उनी सहचालक हुन या होइनन् भन्ने स्पष्ट खुल्न सकेको छैन् । गाडी कसले चलाएको र दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भएरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले बताए ।
आज शोक विदा
सिगास गाउँपालिका–१ मा शनिवार भएको जिप दुर्घटनामा परी एकै गाउँका दुईको जनाको मृत्यु भएको र चार जना घाइते भएको शोकमा वडामा आज शोक विदा दिइएको छ ।
आज वडाका शिक्षण संस्था र सरकारी कार्यालयहरुमा शोक बिदा दिएको वडा अध्यक्ष रामचन्द्र ऐरीले बताए ।












