पञ्चेश्वरकी बेपत्ता किशोरीको अवस्था अज्ञात : चार महिना सम्म के गर्दैछ बैतडी प्रहरी ?

बैतडी : प्रहरी हवलदार संग जोडिएकी बेपत्ता पञ्चेश्वर गाउँपालिका– २ डिम्मरकी १७ वर्षीया किशोरीको अवस्था बैतडी प्रहरीले अझै पत्ता लगाउन सकेको छैन् । असोज २५ गते बिहानदेखि बेपत्ता किशोरी हराएको ४ महिना बितिसक्दा पनि उनको अवस्था अज्ञातनै रहेको बैतडी प्रहरीले बताएको छ ।

यो विषयमा जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी मकेन्द्र कुमार मिश्रलाई बुझ्दा विभिन्न कोणबाट अनुसन्धान भइरहेको र अहिले सम्म कुनै कुलु फेलापार्न नसकेको बताउनु भयो । समयसमयमा अनुसन्धान अधिकृतहरुलाई फिल्ड पठाएर अनुसन्धान गर्दापनि कुनै प्रगती नभएको उनले बताउनु भयो ।

यस्तै बेपत्ता किशोरीबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पनि घटनाको अनुसन्धानमा कुनै प्रगति गर्न सकेको छैन् । जिल्ला प्रहरी र अनुसन्धान ब्युरोले अहिले सम्म किशोरीको अवस्था पत्ता नलगाउन सक्दा यो घटना प्रहरीसंगै जोडिएकोले अनुसन्धान तोडमोड गरिन लागेको होकी भन्ने आफन्तहरुले आशंका गरेका छन् ।

करिब एक सातासम्म अनुसन्धान गर्दा पनि घटना नसुल्झिएपछि अहिले केन्द्रबाटै अनुसन्धान व्युरोको टोलीले घटनासँग सम्बन्धित तथ्य र प्रमाणका विषयमा अनुसन्धान गरिरहेको छ । किशोरी बिहान पानी लिन भनी नजिकैको धारातर्फ गएकी थिइन् । उनको ग्यालेन र डोरी भेटिएको छ, तर किशोरीको अवस्था अज्ञात रहेको छ ।

किशोरीलाई बेपत्ता पारेको आरोप महाकाली प्रहरी चौकीका तत्कालीन प्रहरी हबलदार कृष्णराज जोशीमाथि लागेको छ । असोज २५ गते भागेर महाकालीपारि भारतको सुगरखाल पुगेका जोशीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

उनी अहिले पूर्वपक्षका लागि करागार छन् । उनीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । किशोरीको परिवारले जोशीविरुद्ध व्यक्ति बेपत्ता पार्ने कसुरमा किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया छाेड्नुहाेस्