मेलाैली नगरकाे बेवास्तालाई स्थानियले गरे फाेहाेर प्रहार

बैतडी – मेलौली नगरपालिकाको लापरवाहीप्रति आक्रोशित स्थानीयहरूले पालिका परिसरमै फोहोर थुपारेर अनोठो विरोध जनाएका छन्। तल्लो स्वराड क्षेत्रको मुख्य बजार मानिने मेलौलीमा फोहोर व्यवस्थापनमा लगातार बेवास्ता हुँदा स्थानीय जनजीवन कष्टकर बनेको छ।

बजारको बीचमै जथाभावि फालिएको फोहोरले आवतजावत मात्र होइन, बालबालिकादेखि वृद्धसम्म सबैलाई समस्या पारिरहेको छ।

मेलौली–१ की सुनिता दयाल भन्छिन्, “बालबालिकाले फोहोर घरसम्म लैजाने गर्छन्, सिसाका टुक्राले चोट लाग्ने घटना त सामान्य भइसक्यो।” उनका अनुसार बजारनजिकैको वस्ती, गोठ जाने बाटो र खेल्ने ठाउँमा फोहोरका डङ्गुरले जोखिम बढाएको छ। मेलौली-७ की भागरथी चन्द भन्छिन्, “फोहोरले हाम्रो जमिन नै मासिएको छ। बाटो हिँड्नसमेत गाह्रो भएको छ।”

रक्सीका बोतल, प्लास्टिक, सडेगलेका फोहोरदेखि लिएर नकुहिने वस्तुसम्म बजारभरी फालिएको छ। टाढाबाट आउने यात्रुहरू समेत दुर्गन्ध र दृश्यको कारण हैरान भएका छन् । स्थानीयले पटकपटक सरसफाइको माग गर्दा पनि नगरपालिका भने “जग्गा छैन” भन्दै पन्छिन खोजिरहेको उनीहरूको गुनासो छ।

प्रतिक्रिया छाेड्नुहाेस्