बैतडीबाट राहत शिक्षकको आन्दोलन घोषण

गौरव चन्द,

बैतडी : नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति बैतडीको आयोजनामा सहिद दशरथचन्दको जन्मभुमी बैतडीबाट वृहत अन्तरक्रिया र जागरण सभाको आयोजना गरेर राहत शिक्षकहरुले आन्दोलनको घोषणा गरेका छन् ।

राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष नवीनसिंह धामीको उपस्थितीमा राहत शिक्षकहरुले आन्दोलनको घोषणा गरेको नेपाल राहत शिक्षक जिल्ला कार्यसमितिका सल्लाहकार नरेन्द्रबहादुर चन्दले बताउनु भयो ।

सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयकमा यसअघि भएका सम्झौताहरु परिपालना नभएको भन्दै राहत शिक्षकहरु फेरि आन्दोलित भएका हुन् । सरकारले राहत शिक्षकहरुको माग सम्बोधन गर्नुको सट्टा स्थानीय तहहरुमा नवीकरण गर्नुपर्ने परिपत्र गरेकाले आफूहरु आन्दोलनमा उत्रेको चन्दले बताए ।

बृहत अन्तरक्रिया एवं जागरण सभामा बोल्दै राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष नवीनसिंह धामीले सरकारले राहत शिक्षकहरुलाई विस्थापित गर्ने नीति लिएकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताए । यसअघि सरकारले राहत शिक्षकहरुसँग गरेका सहमति र सम्झौताहरु उल्लंघन गरेर शिक्षा विधेयक तयार पारिएको उनले बताए ।

राहत शिक्षकहरुले लामो समयदेखि राज्यको उदासिनताका कारण पीडित हुनुपरेको बताउँदै आफ्नो अधिकारका लागि लडाइँ शुरु भएको उनले उद्दघोष गरे । उनले भने,अहिले सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयक सार्वजनिक शिक्षालाई तहसनहस गर्ने खालको छ । आम शिक्षकहरुको भावना विपरीत विधेयक तयार पारिएको छ । त्यो विधेयक संशोधन हुनुपर्ने हाम्रो माग रहेको छ ।’

राहत शिक्षकहरुले आफूहरुका माग पू्रा गर्न सरकार तयार नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । स्थानीयस्तरबाटै आफूहरुले आन्दोलनको शुरुवात गरेको जनाउँदै उनीहरुले पेशागत सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग गरेका छन् ।

यसअघि नेपाल शिक्षक महासंघसँग भएको सहमति बमोजीम विद्यालय शिक्षा विधेयक तयार नभएको भन्दै राहत शिक्षकहरु आन्दोलित भएका हुन् । राज्यकै उदासिनताका कारण आफूहरु लामो समयदेखि अन्यायमा परेको उनीहरुले बताएका छन् ।

नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति बैतडीका अध्यक्ष तेजबहादुर चन्दले राहत शिक्षकहरुका माग पूरा गराउन राहत शिक्षकहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । राहत शिक्षकहरुका माग पुरा नगरे बैतडी राहत शिक्षकहरु केन्द्रको सरकुलेसन अनुसार हरेक कार्यक्रमको लागि तयार रहेको समेत जिल्ला अध्यक्ष चन्दले बताए ।

प्रतिक्रिया छाेड्नुहाेस्