बैतडी – बैतडीमा एक कर्मचारीले पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन् । समाचारको विषयमा असन्तुष्टि जनाउँदै ती कर्मचारीले ज्यान मार्ने धम्की दिएका हुन् ।
बैतडीस्थित आमचौरा स्वास्थ्य चौकीमा कार्यरत सिनीयर अहेव भानबहादुर चन्दले फोन मार्फत रेडियो मेलौलीका व्यवस्थापक लक्ष्मण बिसी र सोही रेडियोका बजार व्यवस्थापक मंगेस दयाललाई ज्यान मार्नै धम्की दिएका हुन् ।
जातीय विभेदको कसूरमा ४ महिना कैद सुनाइएका र फरार रहेका प्रकाश चन्द भारतमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्ने शीर्षकमा समाचार सार्वजनिक भएपछि सिनीयर अहेव भानबहादुर चन्दले ज्यान मार्ने धम्की दिएको रेडियो मेलौलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिपक कुमार रायले घटनाबारे अनुसन्धान भइरहेको बताए । फरार रहेका चन्दको खोजी भइरहेको डिएसपी रायले बताए ।
पत्रकारद्वय बिसी र दयालको तर्फबाट उजुरी दिने जानकारी आएको र त्यसपछि कानुनी प्रक्रिया अपनाएर अघि बढ्ने डिएसपी रायले बताए । पत्रकार वीसी पनि अहिले जिल्ला बाहिर छन् । जिल्ला पुगेर थप प्रक्रियामा जाने उनले बताएका छन् ।
पत्रकारहरूलाई ज्यान मार्ने धम्कीका विरुद्ध सरोकारवाला निकायले चासो राखेका छन् । पत्रकार संघ–संगठन र सुरक्षा निकायले चासो राखेका हुन् ।
सामुदायिक रेडियो मेलौलीले यस विषयमा जानकारी दिँदै विज्ञप्ति जारी गरेपछि पत्रकार महासंघले पनि ध्यानाकर्षण जनाउँदै दोषीमाथि कारवाहीको माग गरेको थियो ।
त्यसपछि प्रेस चौतारी जिल्ला समिति, प्रेस युनियन जिल्ला समिति र प्रेस युनियनको प्रदेश समितिले पत्रकारमाथि भएको धम्कीपूर्ण व्यवहारले प्रेस स्वतन्त्रता माथिको प्रहार भएको भन्दै कारवाहीको माग गरेका छन् ।
समाचारप्रति कुनै गुनासो वा असन्तुष्टि भएर कानुनी उपचार खोज्नुको साटो पत्रकारलाई नै धम्कीपूर्ण व्यवहारबाट ज्यान मार्ने धम्की दिनु गैह्रकानुनी रहेको भन्दै कारवाहीको माग गरिएको हो ।











