बैतडी – यस वर्षको प्रजापति (पिपी) प्रसाई फाउन्डेसनबाट प्रदान गरिने राष्ट्रिय शैक्षिक पुरस्कारमा ‘विद्यालय सुधारमा प्रयत्नशील प्रोत्साहन’ पुरस्कारबाट बैतडीको नागर्जुन आधारभूत विद्यालय पुरस्कृत भएको छ ।
फाउन्डेसनले देसभरका विद्यालय मध्ये विद्यालय सुधारमा प्रयत्नशील प्रोत्साहन पुरस्कार एक मात्र बैतडीको पञ्चेश्वर गाउँपालिका –१ मा रहेको नागर्जुन आधारभूत विद्यालय पालडीलाई प्रदान गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई १ लाख रुपैयाँ नगद र सम्मानपत्र सहित पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यापक सुरेश सार्कीले जानकारी दिनु भयो ।
फाउण्डेशनले विज्ञहरु मार्फत देसभरीका विद्यालयबाट विभिन्न सूचाङ्ख सहतिको आवेदन फारम भरेर प्रतिस्पर्धामा भाग लिन सार्वजनिक आह्वान गरेको थियो ।
सूचाङ्खमा विद्यार्थीको सिकाइ, शिक्षकले कक्षाकोठामा प्रदर्शन गर्ने क्षमता, समुदाय प्रतिको जिम्मेवारी बोध, कमजोर सिकाई भएका विद्यार्थीको सिकाई सुधार गर्न शिक्षकले अपनाउने उपाय, सिकाइमा सूचना प्रविधिको उपयोग, तालिममा प्राप्त सीपको कक्षाकोठामा प्रयोग जस्ता विभिन्न सूचाङ्खको प्रश्नावली सहित तोकिएको फारम भरेर प्रतिस्पर्धामा सहभागी गराएको थियो ।
फाउन्डेसनले देसभरका सामुदायक विद्यालय मध्ये ६ उत्कृष्ट शिक्षक र विद्यालय सुधारमा प्रयत्नशील प्रोत्साहन पुरस्कार मध्ये देसभरीकै एक बैतडीको नागर्जुन आधारभूत विद्यालयलाई पुरस्कृत गरेको हो । उत्कृष्ट शिक्षकलाई जनही ५० हजार रुपैंया नगद प्रमाणपत्र र विद्यालयलाई नगद १ लाख रुपैंया नगद र सम्मानपत्र प्रदान गरेको हो ।

पुरस्कृत हुने नागार्जुन आधारभूत विद्यालयमा कुल १ सय ६४ अध्ययनरत विद्यार्थीमध्ये १ सय ३९ जना दलित समुदायका बालबालिका अध्ययन गर्छन् । यो विद्यालयको २०५१ सालमा चिउरीको बोटको फेदीमा विद्यार्थी बसालेर पढाउन सुरु गरि स्थापना गरिएको प्रअ सार्कीले बताए ।
विद्यालयको सबैकुराको मुल्याङ्खन गरि फाउन्डेसनले विद्यालयलाई पुरस्कृत गरेकोमा आगामी दिनमा विद्यालयको शैक्षिकस्तर उकास्न झन प्रेरणा मिलेको उनले बताए । प्र्रअ सार्कीले यसै विद्यालयबाट आधारभूत शिक्षा हासिल गरि अहिले यसै विद्यालयका प्रअको जिम्मेवारी लिएर अध्यापन गराइरहेका छन् ।









