धनगढी- धनगढीको घाम तातो छ, तर त्योभन्दा तातो छ धनगढीका २४ वर्षीय रामप्रसाद चौधरीको आत्मविश्वास ।
जहाँ अधिकांश युवा विदेश जाने लाइनमा लागिरहेका छन्, चौधरी भने आफ्नै शहरमा औजार बोकेर सपना बुन्दैछन् ।
बचपनदेखि नै मेसिनको आवाजसँग नजिकिएका उनी १८ वर्षको उमेरमै अटो मर्मत सिक्न थाले ।
उनसिंगैका साथीहरु रोजगारीको लागि कतार, मलेसिया दुवइ लगायतका विभिन्न देश उडे । तर, उनी भने धनगढीमै ग्यारेजको ग्रीस र धुलोमै रमाए ।
उनी भन्छन्, “धेरै साथीहरु देशमै के हुन्छ र? जाउं विदेशतिर भन्छन्, तर म त भन्छु देशमै सबै कुरा हुन्छ, तर धैर्य चाहिन्छ ।”
आफ्ना दाईहरुसंग ग्यारेजमा अटो सर्भिसको काम सिकेका उनले अहिले आफ्नै ग्यारेज खोलेका छन् ।
उनको ‘चौधरी भाई अटो सर्भिस सेन्टर’ अहिले धनगढीको भरपर्दो ग्यारेज बनेको छ ।
उनले भने, “पहिले मैले धनगढीमै काम सिकेको हुँ । १८ वर्षको हुँदा काम सिके । त्यसपछि मेरो दाइसंगै पसल खोलेर काम गरियो । एउटै ठाउँमा ५ वर्ष काम सिके । आफ्नो पसल खोल्न उमेर पनि कम थियो, काम सिकेपछि २४ वर्षको उमेरमा मैले आफ्नै पसल खोलें ।”
आफ्नो परिवारका सबै जना वयापार लाइनमै रहेको बताउँदै उनले भने, “हाम्रो घरमा जागिर गर्ने कोहि पनि छैनन् । सबै सानो तिनो भएपनि व्यापार लाइनमै छन् । त्यसैले मलाईपनि जागिर गर्ने रहर लागेन म पनि यहि लाइनमा आएर आफ्नै व्यवसाय सञ्चालन गरे ।”
जागीर नगर्ने तर, जे जस्तो भएपनि आफ्नै व्यवसाय गर्ने सोच पहिलैदेखि रेहेको उनी बताउंछन् ।
अरुको जस्तो जागिर गर्न विदेश जान्छु अरुको भरमा परेर काम गर्छु भन्ने सोच कहिलै नआएको उनी बताउंछन् ।
उनी संगका साथीहरुले एसएलसी पास गरेर गरेर कलेज, क्याम्पस जोइन गरे । तर चौधरीले भने ग्यारेज जोइन् गरे ।
“साथीहरुले कलेज जोइन् गर भन्थे तर मैले गरेन्, अहिले तीनै साथीहरुसंग भेट हँुदा चौधरी भाइ तिमले ग्यारेज जोइन गरेर ठिक गर्यौ भन्छन्, उनले भने ।”
उनले आफ्नो ग्यारेजमा आठ जना युवालाई रोजगारी पनि दिएका छन् ।
उनी भन्छन्, “अहिले मेरोमा ८ जनाले काम सिक्दै र गर्दै छन् । धेरै काम सिकेर गए पनि । अरुको देशमा गएर रोजगारी गरेर केही फाइदा छैन्, बरु काम सिकेर नेपालमै केही गर्न सकिन्छ् । रोजगारी पनि दिन सकिन्छ् ।”
अरुकोमा काम गर्नुभन्दा अरुलाई काम दिनुमा गर्व लाग्ने उनी बताउँछन् ।
ग्यारेजमा आउने हरेक बाइक चालक उनीसँग नामै लिएर बोल्छन्, “चौधरी भाइ, मेरो बाइक हेरिदिनु न ।”
त्यो आत्मीयता, त्यो विश्वास–पैसाले किन्न नसकिने कुरा हो ।
उनले धेरैको विश्वास पनि जितेका छन् । उनको ग्यारेज पुगेका ग्राहक कहिल्यै टाढिदैनन् ।
उनी भन्छन्, “एकचोटी आएको ग्राहक फेरी–फेरी मेरै गयारेजमा आउँछन् । विहान ७ बजेदेखि राति ८ बजेसम्म मलाई फुर्सदै हुँदैन् ।”
चौधरी दैनिक ३० देखि ५० मोटरसाइकल र स्कुटि मर्मत गर्छन् । शनिबारको दिन पनि उनले सेवा दिदै आएका छन् ।
काममै गर्व छ, देशमै भविष्य छ
चौधरी मर्मत कार्यमा आफैँ सक्रिय रहन्छन् । उनी आफू मात्र हैन, आफ्ना कर्मचारीहरूलाई पनि नयाँ–नयाँ सीप सिकाउँछन् ।
उनले भने, “मेरोमा ८ जना कर्मचारी भए पनि म आफैँ पनि काममा खटीन्छु । काम पनि गर्छु संगै सिकाउछु पनि ।”
सबै खर्च कटाएर महिनाको एक लाख बढी बचत गर्ने गरेको उनी बताउंछन् ।
तर चौधरी भन्छन्, “कमाइ मात्र ठूलो कुरा होइन, मलाई गर्व लाग्छ कि म आफ्नै ठाउँमा केही गरिरहेको छु।”
चौधरी आज सन्तुष्ट छन्, खुसी छन्। उनलाई विदेश जाने रहर कहिल्यै लागेन।
बरु उनी भन्छन्, “विदेशमा श्रमिक भएर पसिना बगाउनुको सट्टा, आफ्नै देशमा पसिना बगाएर मालिक बन्न सकिन्छ।”
चौधरीजस्ता युवाहरूले देखाएको बाटो अरूका लागि उज्यालो दीप बन्न सक्छ। उनी केवल मोटरसाइकल मर्मत गर्ने होइनन्, उनी त सपना मर्मत गर्ने डाक्टर पनि हुन्— “मोटर बाइकका डाक्टर”।













