सन्तान जति थोरै हुन्छन्, उति नै पालनपोषण गर्न सहज हुन्छ । धेरै सन्तान हुर्काउँदा जति अभाव र समस्याहरू झेल्नुपर्छ, थोरै सन्तान हुर्काउँदा त्यस्तो हुँदैन भन्ने सोचका साथ आजभोलि एउटा मात्र सन्तान जन्माउने प्रचलन बढ्दो छ ।
एउटा मात्र सन्तान भए उसलाई आमाबुबाले पर्याप्त स्याहारसुसार गर्न सक्छन् भन्ने सोचाइ पाइन्छ । केही वर्ष पहिले र अहिले बालबालिका हुर्काउने तरिकामा ठूलो भिन्नता छ । पछिल्लो समय व्यस्त जीवनशैली, पैसा कमाउने चाहना र बढ्दो कामको दबाबले अधिकांश अभिभावकले छोराछोरीलाई समय दिन सकेका छैनन् ।
यस्तोमा आमाबाबुले एकल बच्चाको पालनपोषण र हेरचाहमा उचित ध्यान नदिंदा उनीहरू एक्लोपनको सिकार हुन सक्छन् । एकल बच्चाको पालनपोषण गर्दा आमाबाबुले बच्चालाई पर्याप्त समय दिनुपर्छ । यसो नगर्दा बालबालिकामा एक्लोपनको जोखिम हुन्छ ।
आमाबाबु दुवै काम वा रोजगारीमा रहेका बालबालिकाहरू जिद्दी हुने र एक्लोपनको सिकार हुने सम्भावना बढी हुन्छ । त्यसैले हरेक अभिभावकले एकल बच्चा हुर्काउँदा यी सात कुरालाई ध्यान दिनुपर्छ ।
बच्चालाई आत्मनिर्भर हुन प्रोत्साहन गरौं
आमाबाबुले एक्लो सन्तान हुर्काउँदा सबै ध्यान सधैं बच्चाको वरिपरि नै रहन्छ र यो प्रक्रियामा उनीहरूले बच्चालाई यति धेरै ध्यान दिन थाल्छन् कि सानो सानो काम पनि गर्ने मौका नै दिंदैनन् । यसो गर्दा बच्चाको व्यक्तित्वमा नकारात्मक प्रभाव पर्छ ।
स्वतन्त्रता दिऊँ
बच्चालाई आफ्नो काम आफैं गर्न र केही नयाँ काम गर्ने स्वतन्त्रता दिनुपर्छ । यसो गर्दा उसले आत्मविश्वासका साथ काम गर्न सिक्छ र आफ्नो आवश्यकता पूरा गर्न अरूको भर पर्नु पर्दैन । साथै बालबालिकाको स्वाधीनता र आत्मविश्वास बढाउन पनि सहयोग गर्नुपर्छ ।
बच्चाबाट धेरै अपेक्षा नगरौं
आमाबाबुले एकल बच्चाको बारेमा धेरै उच्च अपेक्षा राख्ने गर्छन् । यस्तो अवस्थामा उनीहरूले सानो गल्ती गर्दा पनि बच्चा दबाबमा आउँछ र आत्मविश्वास गुमाउन थाल्छ । त्यसैले बच्चाबाट उच्च अपेक्षा राख्नु हुँदैन । बच्चाले गल्तीबाट मात्र सिक्छ र यो उसको अधिकार पनि हो ।
उमेर अनुसारको व्यवहार गरौं
एकल बच्चाको मानसिकता बुझेर उसको उमेरअनुसार व्यवहार गर्नुपर्छ । आफ्नो कारण अभिभावक सधैं खुसी हुन् भन्ने चाहना बालबालिकाको हुन्छ । तर अभिभावकले भने बच्चाको सानो सानो गल्तीमा पनि उनीहरूलाई गाली गर्ने गर्छन् ।
यसले बच्चामा आत्मद्वेषको भावना विकास हुन थाल्छ । यो नकारात्मक भावनाले बच्चा र अभिभावकबीचको सम्बन्धलाई बिगार्न सक्छ । त्यसैले अभिभावकले बच्चालाई उमेर अनुसार उपयुक्त निर्णय गर्न, जिम्मेवारी लिन र समस्या हल गर्नमा मद्दत गर्नुपर्छ ।
बच्चाको हरेक इच्छा पूरा नगरौं
आमाबाबुले आफ्नो एक्लो सन्तानलाई यति धेरै माया गर्छन् कि उसको हरेक इच्छा पूरा गर्छन् । बच्चाले जे चाहेको छ, त्यो पूरा गरिदिनु जरुरी छैन । किनभने बच्चालाई थाहा हुँदैन, आफूले मागेको कुरा उचित छ कि छैन ।
बच्चाले भनेको हरेक कुरा पूरा गरिदियो भने उनीहरूमा गलत मनोविज्ञान विकास हुन्छ । जसले गर्दा पछि उनीहरू जिद्दी, कुरा नबुझ्ने, अटेरी हुन पुग्छन् ।
आफ्नो इच्छा बच्चामा नथोपरौं
धेरै पटक यस्तो पनि देखिन्छ कि आमाबाबुले एकल बच्चामा आफ्नो इच्छा थोपर्न थाल्छन् । जस्तो बच्चालाई डाक्टर बनाउने, इन्जिनियर बनाउने चाहना राख्छन् । सन्तानको माध्यमबाट आफ्ना सबै इच्छा पूरा गर्न चाहन्छन् ।
यो लक्ष्य हासिल गर्ने प्रयासमा उनीहरूको सबै स्वतन्त्रता खोसिन्छ र बच्चाहरू एक्लो महसुस गर्न थाल्छन् । त्यसैले बच्चालाई आफ्नो इच्छाअनुसार बनाउन चाहने भन्दा पनि उनीहरू के चाहन्छन् भन्ने कुरामा अभिभावकले ध्यान दिनुपर्छ ।
आवश्यकताभन्दा बढी सुविधा नदिऊँ
आमाबाबुले एकल बच्चालाई हरेक सुविधा दिने प्रयास गर्छन् । आफ्ना छोराछोरीलाई खुसी बनाउन क्षमता भन्दा बढी खर्च गर्छन् । आफ्ना एक मात्र सन्तानले सबै सुविधा पाउनुपर्छ भन्ने अभिभावकको धारणा हुन्छ ।
तर यसरी उनीहरूलाई धेरै सुविधा दिंदा उनीहरू क्षमता भन्दा बाहिरको कुरा पनि माग गर्न थाल्छन् र माग पूरा नभए घुर्की लगाउने र रुने गर्न सक्छन् । त्यसैले बालबालिकालाई सीमित सुविधामा मात्रै राख्ने बानीको विकास गर्नुपर्छ ।
खुला संवाद गरौं
एकल सन्तान हुने अभिभावकले आफ्ना बालबालिकासँग खुला संवाद बढाउनुपर्छ । घरमा एउटा सुरक्षित स्थान बनाउनुहोस् जसमा बच्चाले आफ्नो भावना, चिन्ता र आवश्यकताहरू अभिभावकसमक्ष खुला रूपमा व्यक्त गर्न सकोस् ।
बाहिरी सम्बन्ध बनाउन प्रोत्साहन गरौं
बालबालिकालाई परिवारबाहेक अन्य आफन्त वा नजिकको साथीसँग सम्बन्ध बनाउन सहयोग प्रदान गर्नुपर्छ । यसो गर्दा उनीहरू सामाजिक वातावरणसँग घुलमिल हुन सक्छन् । जसले सामाजिक समर्थन बढाई आत्मसम्मानमा वृद्धि गर्छ ।
समय र नियमित तालिका प्रदान गरौं
समय र नियमित तालिकाको वातावरणले बच्चाको चिन्ता कम गराई सुरक्षित महसुस गराउँछ । दिनचर्या नियमित गरेर उनीहरूले व्यवस्थित रूपमा सबै कुरा व्यवस्थापन गर्न सक्छन् ।
बच्चालाई तनाव व्यवस्थापनको कौशल सिकाउनुपर्छ । आवश्यकताअनुसार मद्दत माग्न उत्साहित गर्नुपर्छ ।