बैतडी : वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व बैतडीमा पनि उल्लासका साथ मनाइँदैछ । जिल्लाको विभिन्न ठाउँमा परमपरागत होलीको गित गाएर होली खेलीदै छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भस्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको दन्त्यकथा यो पर्वसँग जोडिएको छ ।
त्यसैबेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षस्नी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भइ मारिएको निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ। बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौं रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्त्व छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ ।
तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। यस वर्ष पनि तराईमा सोमबार होली मनाइँदै छ। यसैबीच प्रहरी फागु पर्व लाई सुरक्षित र मर्यादित बनाउन सबैलाई आग्रह गरेको छ ।