गणतन्त्र उत्सवमानै छैन नेता-कार्यकर्ताको उपस्थिति

बैतडी- आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

तर पछिल्लो समय गणतन्त्रको पुर्ण भोग गरिरहेका राजनीतिक दल तथा तिनिहरुका कार्याकर्तालाई गणतन्त्रको उत्सवले खासै छुदैन् । बैतडीमा आयोजना गरिएको गणतन्त्र दिवस २०८१ मा पनि राजनीतिक दलको उपस्थिती प्राय शुन्य थियो ।

कार्यक्रममा राजनीतिक दलको औपचारिक प्रतिनिधित्व थिएन भन्दा पनि हुन्छ । निर्वाचित जनप्रतिनिधिको तर्फबाट जिल्ला समुन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी र उपप्रमुख दमन बहादुर कुँवरमात्रै कार्यक्रममा उपस्थित थिए । नेताहरुको आपसी झगडाले जनतालाई गणतन्त्रको अभास नभएको जिल्ला समुन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामीको भनाई छ ।

उहाँले भन्नुभयो नेताहरु जनताको आकांक्षा पुरा गर्नुभन्दा पनि आफ्नो सुख भोग गर्ने तथा भ्रष्टाचारका गतिविधिमा लिप्त छन् । ’प्रजातन्त्र दिवस मनाएको स्मरण गर्दै प्रमुख धामीले भने “प्रजातन्त्र दिवस मनाउदा जनतामा एक प्रकारको छुट्टै उत्साह हुन्थ्यो र कार्यक्रममा ठुलो संख्याँमा भीड भएर मनाइन्थ्यो तर गणतन्त्र दिवसमा जनताको उपस्थितिनै छैन् यसले बुझिन्छ गणतन्त्र दिवसमा जनताको चासो छैन” ।


दिवसको उपलक्षमा गणतन्त्र दिवस मुल आयोजक समितिले वृक्षारोपण, प्रभातफेरी, अन्र्तक्रिया साथै दिप प्रज्वलन कार्यक्रम गरि दिवस मनाइरहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनुभयो । उहाँका अनुसार दिवसका अवसरमा बैतडी सदरमुकास्थित गढीमा रहेको दशरथचन्दको शालिकमा माल्यार्पण समेत गरिएको थियो ।

यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाउने निर्णय सरकारले गरेको छ ।

वि।सं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादी बीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो । वि.सं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । वि.सं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौं जनता सडकमा आए । अन्ततः तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि।सं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनः स्थापना गर्न बाध्य हुँदै बैठकसमेत आह्वान गरे ।

वि.सं २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ ।
यसैको जगमा वि।सं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो ।

पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । वि।सं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।
संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

संविधान सभाले डा। रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको पहिलो महिला राष्ट्राध्यक्ष बनिन् । हाल तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन् । त्यसभन्दा अगाडि नेपालमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे ।

प्रतिक्रिया छाेड्नुहाेस्