काठमान्डौँ : आज (आइतबार) एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री नियुक्त हुँदै छन् । सरकार गठनका लागि दिएको समयसीमा सकिएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।
राष्ट्रपतिले आज साँझ ५ बजेसम्मको समयसीमा दिएर संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय दिएका हुन् ।
आइतबार साँझ समयसीमा सकिएपछि मात्रै नियुक्ति र शपथको प्रक्रिया अगाडि बढाउने तयारी रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेले बताउनु भयो ।ओलीनिकट स्रोतका अनुसार सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ ग्रहण हुनेछ ।
यसअघि प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका ओलीको शपथ आइतबार हुने भनिएको थियो । तर, नियुक्तिमा ढिलाइ भएपछि सोमबार शपथको समय निर्धारण गरिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच आलोपालो प्रधानमन्त्रीसहितको सहमति भएको छ । तर, सहमतिपत्र भने अझै सार्वजनिक भएको छैन ।
एमालेले सोमबार मात्रै मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने भएको छ । शनिबार एमाले अध्यक्ष ओलीले सचिवालय सदस्यहरूसँग मन्त्रीहरूको विषयमा छलफल गरेका थिए । एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ । प्रधानमन्त्रीको शपथलगत्तै १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी ओलीको छ ।
एमालेले प्रधानमन्त्रीसहित आठ मन्त्रालय लिने मोटामोटी सहमति भएको छ । एमालेमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, पदम गिरी, एलपी सावालगायत मन्त्रीका लागि चर्चामा छन् ।








