गुमनाम बैतडीको पञ्चेश्वरधाम

बैतडी– बैतडीको प्रतिष्ठित पञ्चेश्वर धाम गुमनाम छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका– १ अर्थात साविकको पञ्चेश्वर गाविस– ७ स्थित भारतीयसिमा नजिक रहेको पञ्चेश्वरधाम गुमनाम छ । ग्रामिण क्षेत्रमा रहेको सो धाम विकास र राजनीतिक पहुँचको अभावमा गुमनाम बनेको हो ।

पञ्चेश्वरधाम यस क्षेत्र तथा भारतको उत्तराखण्डका लागि प्रतिष्ठित धाम हो । भारतको हरिद्धार पछिको यस धामलाई यहाँका हिन्दुहरुले मान्छन् ।

स्नान गर्न हरिद्धार जान नसक्ने व्यक्ति पञ्चेश्वरमै गएर स्नान गर्छन । सुदूरपश्चिम भरिकै भक्तजनहरु स्नानकालागि पञ्चेश्वरधाम आउने गर्छन् ।

पञ्चेश्वरधामकै नामले निर्माण हुन नसकेको अन्तराष्ट्रिय स्तरको पञ्चेश्वर बहुद्देशीय परियोजना छ । पञ्चेश्वर गाउँपालिकाको नाम पनि सोहि धामको नामले राखिएको छ । पञ्चेश्वरको नाम राष्ट्रिय तथा अन्तराष्ट्रियका कागजहरुमा लेखिएको छ । तर धाम भने गुमनाम नै छ ।

पाटन पञ्चेश्वर सडकखण्डको काम कयौँ वर्षदेखि अधुरो र अपुरो छ । स्वराड क्षेत्रमा सडक पुगेपनि पाटन पञ्चेश्वरसडक गन्तव्य पुग्न सकेको छैन् । सडक विस्तार नहुँदा र धामको प्रचार नहुँदा सो धाममा समेत पुर्वधार निर्माण हुन सकेका छैनन् ।

अन्तराष्ट्रिय स्तरको पर्यटकीय स्थल, प्रतिष्ठित तथा ठुलो शक्तिपिठको रुपमा सो धाम रहेको छ । तर यसको संरक्षण सम्बर्धनका लागि भने राज्यको ध्यान पुगिरहेको छैन् । महाकालीनदी किनारमा रहेको सो धाममा पुजापाठका लागि सामान्य ढुगां राखिएका छन् ।

तर पारि भारतीय क्षेत्रमा भने ठुलो तिर्थस्थलको रुपमा विकास गरिएको छ । जसले नेपाली भक्तजनहरु पनि पारि नै तानिन्छन । बिडम्बना, जसका कारण भारतजानुपर्ने बाध्यता छ ।

नेपाल तिरको व्यापार व्यवसायपनि ठप्प रहन्छ भने भारतिय व्यापारीहरुलाई फाइदा हुने स्थानीय बताउछन् ।

नेपालतिरको धाममा झाडीमुनि ढाकिएका देवताका मुर्ति, शिलाहरु असुरक्षित छन् । बर्खायामको बाढीको जोखिम छ । नवरतको समयमा सुदूरपश्चिमकै भक्तजनहरु स्नान गर्न पञ्चेश्वर जाने गर्छन् । श्राध्य, ब्रतबन्धन लगायत विभिन्न धार्मिक कार्यका लागि पञ्चेश्वरधाम जानेगर्दछन् ।

नेपालतिरबाट सडक विस्तार नहुँदा झक्तजनहरु गड्डाचौकि सिमानाकाबाट वनवासा हुँदै चम्पावत, लोहाघाटदेखि पञ्चेश्वरधाम पुग्छन्। तर नेपालतिरको धाममा सामान्य बस्न त परै जावस ओत लाग्न पनि साना धर्मशाला पनि छैनन् । जसकारण भक्तजनहरु पारि नै तानिन्छन् ।

किम्बदन्तीमा पञ्चेश्वर धाम

बैतडीको तल्लो स्वराडस्थित पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ अन्तरगत पर्ने तथा भारतको पिथौरागढ जिल्लाको पुर्वमा पर्ने स्थाकिल पर्वतको फेदमा श्यामा (महाकाली) नदी र सरयुँ (स्थानीय भाषामा सरु) नदिको संगममा पञ्चेश्वर महादेव मन्दिर अवस्थित छ ।

यस महादेव मन्दिरको वरण व्यास ऋिषिद्धारा रचित स्कन्द पुराणको मानसखण्डमा उल्लेखित गरिएको छ ।

सरयुं (स्थानिय भाषामा सरु) नदि मानस जातीकै पवित्र छन् । वागीश्वर, रामेश्वर र पञ्चेश्वर । यी तिन ठाउँ विशेष फलदायी छन् । हिमालको रमणिय तट व्यास आश्रमबाट प्रकट भएकी कालि (श्यामा) नदिको विशेष महत्व छ । यहाँ स्नान गर्नाले हरिपद प्राप्त हुन्छ ।

पञ्चेश्वरको महात्म्य सुन्नु, पढ्नु र स्मरण गर्नुपर्दछ । यो ठाउँ देव, गन्दर्वहरुलाई समेत दुर्लभ छ । सरयुँ–कालिको सगंमनेर बिचभागमा पञ्चेश्वर छन् । उनी देवीसहित पाँच भुतहरुद्धारा सेवित छन । त्यसैले पाँच भुत सम्बन्द्ध तिर्थ पनि हुन् ।

सरयुं कालिको मध्य सागर तिर्थमा स्नान गरेर ब्रह्म तीनकैबीच तिर्थमा जानु पर्दछ । त्यहाँ स्नान गरि श्राद्ध गर्नाले कुलको उद्दार हुन्छ भन्ने मान्यता छ ।

पहिले ब्रह्मकुण्ड र त्यसपछि महिकुण्डमा गएर स्नान गर्दा स्थितरता पाइने र कुरुपता नष्ट हुने विश्वास गरिन्छ । वरुण कुण्डमा स्नान गर्नाले आँखा कानले गरेका पापहरुको नास हुन्छन् ।

वन्हिकुण्डमा स्नान तथा श्रद्धादि गर्नाले मन, वचन र कर्मद्धारा गरिएका पापहरुको नास हुन्छ । अनि आकाशकुण्डमा स्नान गर्नाले पाचौँ इन्द्रियले गरेका पाप दुर हुन्छन्, र सत्यलोकको प्राप्ति हुन्छ भन्ने मान्यता छ ।

गोविन्द तिर्थ र सुर तिर्थमा स्नान गरेपछि क्षेत्रपालको पुजा गर्दै पञ्चेश्वरिदेवि, धर्मादि तथा पाँचवटै महाभुतहरुको पुजा गरेर पञ्चेश्वरका समिपवर्ती शिवलिगंहरुमा पुजा गर्नुपर्दछ ।

त्यसपछि पञ्चेश्वर भगवानका समिप गएर शुभ चामलहरले पुजा गर्नु तब पञ्चेश सित आज्ञा लिएर सत्यायस तलाउमा जानु । त्यहाँ स्नानगर्नाले वाजपेय यज्ञ गर्नाको फल प्राप्त हुन्छ । यसरि पुजा गर्नाले मन, वचन, कर्म र पाँचै इन्दि«यद्धारा गरिएका पापहरुको नाश हुन्छ भन्ने शास्त्रमा लेखिएको छ ।

धाम संरक्षण गरे नेपाललाई फाइदा

भारतले आफ्नो क्षेत्रमा धाम निर्माण गरेको छ । दर्शनार्थीहरुलाई बस्नका लागि धर्मशालाहरु पनि निर्माण गरिएको छ । पुजा पाठ गर्नका लागि मन्दिर निर्माण गरिएको छ । तर नेपालतिर भने खाली नदि किनारमा बगर मात्रै देखिन्छ । कालि र सर्युँ (सरु) नदिको संगममा रहेको ठुलो तिर्थस्थलको रुपमा मानिन्छ ।

प्रत्येक धार्मिक कार्यका लागि नेपाली र भारतिय भक्तजनहरु सो ठाउँमा स्नान गर्न र पु्जापाठ गर्न जान्छन् । तर नेपालतिर खाली बगर हुँदा तथा ओत लाग्ने ठाउँ समेत नहुँदा नेपालि भक्तजनहरु पनि भारततिरै तानिन्छन् ।

यसले गर्दा भारतिय व्यापार व्यवसायमा ठुलो आर्थिक टेवा पुग्छ भने, नेपाली मुद्रा भारत निर्यात हुन्छ र नेपाली व्यवसाय शुन्य रहन्छ ।

यदि नेपालतिर पुजापाठका लागि मन्दिर निर्माण गरिदिए भारतिय भक्तजनहरु पनि नेपाल आउँथे जसले यहाँका हजारौँ नागरिकले रोजगार पाउँथे भने राज्यको आम्दानी बढाउन सकिन्छ ।

सो क्षेत्रमा दैनिक हजारबढी भक्तजनहरु स्नान गर्न र जल लिनका लागि आउने गर्छन् । पञ्चेश्वरको जल ठुला शक्तिपिठहरुमा चढाइन्छ । काठमाण्डौँमा रहेको शक्तिपिठ मन्दिर पशुपतिमा समेतपञ्चेश्वरको जल चढाइन्छ ।

धामको निर्माण भए विभिन्न व्यापार व्यवसाय फस्टाउँछ

धामको निर्माण भए विभिन्न व्यापार व्यवसाय बढ्छन् । यहाँ सबै भन्दा बढी ८० देखि १ कुन्टलसमको माछाहरु पाइन्छन् ।माछा व्यवसाय फस्टाउँथ्यो । अन्य व्यापारहरु समेत बढ्थ्यो । डुगां चढेर खाद्यान्न सामग्रिदेखि लुगाकपडा लगायत व्यापवार व्यवसायका लागि नेपालीहरु सो नदिमा डुगांको सहारामा भारत जाने गर्छन भने डुगां मार्फत नेपाल–भारत आवतजावत गर्ने गर्छन् ।

रोजगारीका लागि समेत सोही वाटो भएर भारत जाने गर्दछन् । तर यहाँ पोखराको फेवाताल, कर्णालि नदी, नारायणगढ नदि जस्तै डुगाँ व्यवसायी बन्न सकिन्थ्यो । जसले पर्यटकहरु पनि भित्र्याइन्थ्यो । यसले राज्यको आम्दानीको स्रोत बढ्न सक्छ । तर विडम्बना यता तिर भने राज्यको ध्यान जान सकिरहेको छैन् ।

स्थानीय प्रतिनिधि नै भुल्छन आफ्ना संस्कार

ग्रामिण क्षेत्रको विकास गर्ने, संस्कृतिको पहिचान गर्ने, पर्यटकिय स्थलको निर्माण गर्ने र पर्यटक बढाउने लगायतका विभिन्न एजेण्डा बोकेर जनताहरुबाट भोट मागेका स्थानीय जनप्रतिनिधिहरु नै आफ्ना ठाउँ नै विर्सिन्छन् । आफ्नै ठाउँको महत्वबारे थाहा नै हुँदैन् । विकास त कहाँ हो कहाँ जितेर कुर्सिमा बसिसकेपछि एजेण्डा नै विर्सिने गरेको गुनासो जनसमुदायको छ ।

स्थानीय सरकार आएको नै ७ वर्ष भयो तर अहिलेसम्म सघिंय संसद भवनमा नै यस्ता कुराको उठान नै भएको छैन् । विभिन्न आसा देखाएर हिँडेका प्रतिनिधि किन विर्सिन्छन?उनीहरुले आँखिर आफ्नो क्षेत्रको विकास न चाहेका हुन वा गर्न नखोजेका हुन् ? जनमानसको मनमा यीनै प्रश्न खोलिरहन्छन् । जनसमुदायबाट आवाज उठाएपनि वेवास्ता हुने गरेको गुनासो समेत पञ्चेश्वर वासी गर्छन् ।

पञ्चेश्वर धामको संरक्षण र निर्माण भए यहाँका वासिन्दालाई मात्रै नभएर देशकै आर्थिक स्थिर माथि उठ्ने विस्वास यहाँका नागरिकले गरेका छन् । तर राज्यबाट सधैँ ठगिने र हेपिने हुँदा निकै दुख लाग्ने गरेको यहाँका वासिन्दा बताउँछन् ।

धामको संरक्षणमा जुटे युवा

पञ्चेश्वरधामको संरक्षण संवर्दनका लागि यहाँका युवाहरु जुटेका छन् । गुमनाम रहेको पञ्चेश्वर धामको प्रचारप्रसार, सर्वागिंण विकास, तथा संरक्षण सम्वर्दनका लागि पञ्चेश्वरवासी एकजुट भएका छन् । सो धामको संरक्षण सवंर्दनका लागि पञ्चेश्वर क्षेत्रविकास समिति गठन गरिएको छ । सो समितिले आफ्नो एक वर्षको आर्थिक प्रतिवेदन तथा प्रगित विवरण प्रस्तुत गरेको छ ।

सो समितिले आफ्नो पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बिहिबार पञ्चेश्वर १ चतुर्वाहु आधारभुत बिद्यालयमा आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको समितिका अध्यक्ष नरेन्द्र कलौनीले बताउनुभयो ।

पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३का वडा अध्यक्ष मिनबहादुर चन्दको प्रमुख आतिथ्यतामा सो साधारणसभा सम्पन्न गरेको कलौनीले बताउनुभयो ।
पटक पटक धामका लागि आवाज उठाएपनि राज्यले कुनै चासो नै नदेखाएको गुनासो गरिएको छ ।

धाम क्षेत्रमा सडक निर्माणका लागि पटक पटक आग्रह गर्दा पनि विभिन्न बाहाना बनाएर स्थानीय सरकार पञ्छिने गरेको पञ्चेश्वर धाम क्षेत्र विकास संरक्षण सवंर्दन समितिका अध्यक्ष कल्यान सिंह साउँदले बताउनुभयो ।

उहाँले कार्यक्रममा बोल्दै भन्नुभयो, बारम्बार सडकका लागि हामिले स्थानीय सरकारलाई आग्रह गर्योँ तर कहिले केही कहिले केही बाहाना बनाएर अल्झाइयो ।

पञ्चेश्वरमा एउटा मात्रै धाम नभएर विभिन्नि शक्तिपिठहरु छन तर ति पनि जिर्ण रहेको छन् । प्रतिष्ठित चौखाम मन्दिर, गणमेश्वर मन्दिर, उदयदेव, केदार, कैलपाल, देवताल लगायतका विभिन्न शक्तिपिठ मन्दिरहरु छन तर तिनको संरक्षण सवंर्दन हुननसेको समितिका अध्यक्ष नरेन्द्र कलौनीले बताउनुभयो ।

अहिलेसम्म पञ्चेश्वर गाउँपालिका– १ भित्र रहेका कुनै पनि शक्तिपिठहरु दर्ता नभएको गुनासो उहाँको छ । तर अहिले पञ्चेश्वरधामलाई दर्ता गर्न सफल भएको उनको भनाइ छ ।

पञ्चेश्वर धामको उजागर, संरक्षण सर्वदनका लागि आवाज उठानका लागि र धामको विकासका लागि समितिले अहम भुमिका खेल्ने उनको भनाइ छ ।

सो साधारण सभा कार्यक्रममा कार्यसमितिका पदाधिकारी, सल्लाहकार समितिका पदाधिकारी र संरक्षण सवंर्दन सिमितिका पदाधिकारीलाई आजिवन सदस्यता प्रमाणपत्र दिइ सम्मान गरिएको अध्यक्ष कलौनीले बताउनुभयो ।

यस्तै अन्य सहयोगि संघसंस्था र धार्मिक आस्थावान बौद्धिक व्यक्तिहरुलाई मायाको चिनो दिइ सम्मान गरिएको कलौनीले बताउनुभयो ।

सो कार्यक्रममा ९१ हजारको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । जसमा ५४ हजार खर्च भएको बताइएको छ ।

समितिले धामको प्रचार संरक्षण सवर्दनका लागि विभिन्न कार्यहरु गरिरहेको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्