बैतडी- सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ मध्येको एक बैतडीको पाटन नगरपालिकामा रहेको बनारसी विश्वनाथ धाममा दलित समुदायका व्यक्ती मुल पुजारी रहने परम्परा छ । मुल पुजारी दलित रहेको मन्दिरमा दलित र ब्राह्मण पुजारीहरू सँगसँगै पूजा पाठमा संलग्न हुँदै आएका छन्। मन्दिरमा हरेक वर्ष माघ शुक्ल दशमीमा दिन भव्य मेला लाग्ने गर्दछ । जुन शुक्रबार सम्पन्न भएको छ ।

उक्त मेलामा देश तथा विदेशका हजारौँ भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । पाटन नगरपालिकाले समेत मेलाको अवसरमा शुक्रबार नगरपालिकाभरी सार्वजनिक विदा दिएको थियो ।
बैतडी जिल्लाबाटमात्रै नभएर देश तथा विदेशका विभिन्न ठाउँबाट उक्त मन्दिरमा भक्तजनहरु आउने भएकाले नगरपालिकाले बनारसी जात्राको दिन सार्वजनिक विदा दिदै आएको नगर उपप्रमुख कमल बोहराले बताउनुभयो ।

सोह्रौँ शताब्दीका त्यस क्षेत्रका तत्कालीन महाराजा मानुक चन्द (मनि चन्द) को पालामा राजगुरु राजज्योतिषी बसी पन्त र वीरभद्रलगायत सम्पूर्ण स्वराड क्षेत्रका स्थानीयलाई बोलाएर दलितलाई समेत पुजारी नियुक्त गरेको भनाइ छ। त्यसबेलादेखि हालसम्म त्यस मन्दिरका पुजारीमा दलित र ब्राह्मण पुजारीहरू सँगसँगै पूजा पाठमा संलग्न हुँदै आएका छन्।
स्कन्द महापुराणको मानस खण्डमा वर्णन भए अनुसार भगवान् शिवले आफ्ना सम्पूर्ण गण, गन्धर्व, यक्ष किन्नर दिक्पाल, लोकपाल आदिलाई निर्देशन गरी रमणीय पुरीको रचनासहित सो क्षेत्रमा ज्योतिर्लिङ्ग स्थापना गराएर पूजा गर्नुभएको हो।

मन्दिरमा चैत शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म कोटीहोम मेला, वैशाख शुक्ल अक्षय तृतीयाका अक्षय कुम्भमेला, ज्येष्ठ शुक्ल दशमी गङ्गा दशरा स्नान तथा गङ्गा पुजन मेला, साउन महिनाभर साउने मेला, माघ महिनाभरी मकर स्नान मेला लाग्ने गर्दछ। साथै बालाचर्तुदशीका दिन पितृको नाममा सतबीज छर्ने, तीजमा समेत भव्य मेला लाग्ने गर्दछ।

माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विशाल मेलाको साथै शल्य दशमीका दिन २२ ताल सशस्त्र लिङ्ग विशेष गान स्नान गराउने (सुन्दरी, ताल, एकधारे ताल, देवरह ताल र सैनीताललगायत स्थानीय २२ वटा जलाशयबाट पानी सङ्कलन गरी) मुख्य मन्दिरको शिवलिङ्गको स्नान गराउने परम्परा छ।

मेलामा शिव महापुराण, सतचण्डी, चार वेद, अखण्ड रामायणसहित लक्ष्य होम आदि विविध धार्मिक अखण्ड भजन कीर्तनसहित मेला समापन हुन्छ। यस मन्दिरमा हुने विशेष पूजामा दलित÷ब्राह्मण पुजारीले संयुक्तरूपमा पूजा गरेर भक्तजनलाई टिका÷प्रसाद आशीर्वाद दिने प्रचलन छ। सुर्नया नदी किनारमा रहेको उक्त शक्तिपीठको दर्शनले मनले चिताएको पुरा हुने विश्वास छ त्यसैले पनि यहाँ भक्तजनहरुको भीड लाग्ने गर्दछ ।
पूजा सामग्री आउने स्थान
छ हजार स्वराड, जागासौँ पुचुडी, १५ पाला डोटी, पाँच सय बैतडी, नौ लाख निङ्लासैनी, ५६ करोड, रौला, १२ बिसी बरायल, छविसी गड, १३ हजार घटाल, नौखा अछाम, १२ पाट जुम्ला, खप्तान्त कुमाउँ नौ ढुकुरा स्वर २२ पाट लेकमबाट चिनोबानो, सुनचाँदी गरगहना पञ्चेबाजा, नेजाधाजासहित नेपाल र भारतका भक्तजन पूजाका लागि आउने गर्दछ।
यस मन्दिरको पूजा–अर्चनाको निरन्तरताका लागि राजा र राजगुरुसहित स्थानीयले बैतडी जिल्लाका विभिन्न स्थानमा श्री बनारसीधाम विश्वनाथ गुठीको नाममा ६ सय ६६ रोपनी जग्गा व्यवस्थापन गरिएको छ।

दैनिक तीन सय जना भन्दा बढी भक्तजन आउने सो मन्दिर जाने बाटोको असुविधाले भीर चढेर जानुपर्ने, टाढाको भक्तजन बास बस्ने स्थानको समेत अभाव रहेकाले मन्दिरका पुजारी पन्तले बाटो र सामान्य सुविधासहितको पाटीपौवाको व्यवस्थापन हुनुपर्ने बताउनुभयो।
साथै सरयू, गोमतीको बिचमा रहेको सो मन्दिर र स्मशान घाट तटबन्धको अभावमा ठुलो बाढीले बगाउने खतरा रहेको जानकारी दिनुभयो।
पुर्वाधार अभाव
बनारसी धाममा विभिन्न पुर्वाधारहरुको भने चरम अभाव छ । भक्तजनहरुको लागि यहाँ आवसको व्यवस्था छैन् । नदी कटानको जोखिमका साथै पैदल यात्रीहरुका लागि भीरको बाटो जोखिमपुर्ण छ ।

मन्दिर नजिक सडक पुगेपनि श्रद्धालुहरु पाटन बजारबाट र अन्य गाउँबाट पैदल जाने भएकाले मन्दिर जाने पाटन नगरको बाटो निकै जोखिमपुर्ण छ ।









