आशिष माल, बैतडी । हाल पाेल्याण्ड, यूराेप
म बैतडीको एउटा पहाडी गाउँमा जन्मिएको एक नेपाली युवा। सात आठ वर्षसम्म नेपालमा बसेर पत्रकारितामा गरे । दूरदराजका समस्या, सरकारका वाचा, सडक नपुगेका वस्तीहरू, बाढीले बगाएका खेतहरू, अनि बाँच्न संघर्ष गरिरहेका जनताको आवाज बनेँ, बन्ने प्रयास गरे ।
तर एउटा क्षण आयो, जब मैले आफ्नै परिवारको आँसु हेरेँ, र थाहा पाएँ, कलमले क्रान्ति त हुन्छ होला, तर चुल्हो बल्दैन। अनि मैले निर्णय लिएँ कलम गोजामा राखेर बिदेशिने। खाडी जाने कि युरोप जाने निर्णयले शरीरभन्दा धेरै, मनलाई पोल्यो। यात्रा तय गर्ने निर्णय गरे युरोपको ।
युरोपको यात्रा: सपना कि यथार्थ ?
सन् २०२३ को असोज महिनामा मेराे यात्रा त्रिभुवन अन्तरास्ट्रिय बिमान्स्थल काठमाडौं बाट क्रोसिया हुँदै तय भयो पोल्यान्डको झोला, सपना र हिम्मत बोकेर यहाँ आइपुगेपछि सुरु भयो वास्तविक परीक्षा। दुई महिना सम्म मैले केही काम पाएन दुई महिना सम्म नेपाल बाट बोकेर ल्याएको पैसाले होस्टेल लिएर होस्टेलमा बसे । बेरोजगार भएर रोजगारी खोज्दा खोजै बल्ल तीन महिना पछि मैले एउटा कम्पनीमा काम पाएँ । जसको काम थियो अमेरिका जाने सामान प्याक गर्नु। एकछिनलाई लाग्यो, म पनि एउटा प्याक गरिने बस्तु जस्तै भइसकेको रहेछु जसको अस्तित्व छ, तर आवाज छैन।
काम सजिलो थिएन, बिहान ५ बजे उठेर, झ्यालबिनाको कोठाबाट अँध्यारो सडकतिर निस्किनु, दिनभर १२ घण्टा काम, कहिलेकाहीं न खाना खाने समय, न त थकाइ मेट्ने शब्द। शरीर पोल्थ्यो, मन त झन् दोब्बर पोल्थ्यो। भाषा नआउनु, संस्कृति फरक, अनि अपांग जस्तै महसुस गराउने समाज।
तर हिम्मत कहिल्यै छाडिनँ। साँझ कामबाट फर्किएपछि म सपना प्याक गर्न थाल्थेँ – आफूभित्र। म आफूलाई सम्झाउँथेँ – यो समय बित्नेछ, अनि म फर्कनेछु। नेपाल फर्केर पत्रकार होइन, नेतृत्वकर्ता बन्नेछु। अब कलमले होइन, कामले देश बदल्नेछु।
चार महिनाको दूधे बाबु…
जब म पोल्यान्ड जाने दिन आयो, मेरो छोराको उमेर थियो चार महिना। उसले थाहा पाउने उमेर थिएन, कि बाबा किन टाढा जाँदैछन्।
तर मलाई थाहा थियो – म आफ्ना आँखा र मुटुको टुक्रा छोडेर जान लागिरहेको थिएँ। श्रीमतीले आँशु पुछ्दै भनिन्,
“जाउँ है, तर फिर्ता चाहिँ खाली हात होइन, छोराको भविष्य लिएर आउनु…”
त्यो दिन एयरपोर्टको एउटा कुना मेरै लागि संसारको सबैभन्दा गहिरो पीडा भएको थियो।
पोल्यान्डको ठण्डी र मनको आगो
दुई वर्षदेखि पोल्यान्डको एक उद्योगमा काम गर्दै छु – अमेरिकी बजारमा जाने सामान प्याक गर्ने काम, हरेक डब्बा प्याक गर्दा लाग्छ,
“काश ! यस्तो प्याकिङ मेरो मनको भावनामा पनि गर्न सकिन्थ्यो भने, कि घरको सम्झना चुहिएन…” छोरो अहिले तिन वर्ष पुग्न लागिसक्यो। ऊ मोबाइलबाट फोन गर्छ – ठुलो स्वरमा भन्छ, “बाबा, कहिले फर्कन्छौ घर ?” त्यो आवाजले काम गरिरहेकै बखत हात थरथराउँछ। मनभित्र आँधी चल्छ। तर मैले आँसु सुकाउँछु – किनकि मलाई थाहा छ, म त्यो प्रश्नको उत्तर अहिले दिन सक्दिन।
“एक बाबाको सपना, एक नागरिकको शपथ
यो दुःख, यो पीडा, केवल पैसा कमाउन होइन। म सोच्दछु – म त केवल कामदार होइन, म परिवर्तनको प्रतिनिधि हुँ। मैले आफ्नो व्यक्तिगत सन्तोषलाई बन्धक राखेर, सामाजिक परिवर्तनको पक्ष लिएको छु।
“मिसन 2084” मेरो जीवनको ध्येय हो – जब म फर्कन्छु गाउँ, त्यो खाली हात होइन। फर्किने छु त केबल छोराको भविष्य बोकेर परिवारको सपना पूरा गरेर र देश बनाउने योजनाको रोडम्याप लिएर। त्यस दिन म आफ्ना सन्तानलाई गर्वका साथ भन्छु “बाबा तिम्रो भविष्यका लागि दुःख सहे, तर देशलाई पनि बिर्सेन।”
मैले कम्पनीमा काम गर्न थाल्दाको केही महिना पछि, मेरो स्वास्थ्यमा गडबडी आउन थाल्यो। कहिलेकाहीँ कामकै बीच टाउको भारी हुन्थ्यो, सास फेर्न गार्हो हुन्थ्यो। तर ‘छुट्टी’ भन्ने शब्द मेरोलागि विलासिता थियो। किनभने म थाहा पाउँथेँ, म बिरामी पर्दा घरको छानाबाट धुवा न निस्कन सक्छ। अहिले स्वस्थ्य छ स्वास्थमा सुदार आएको छ । यहाँ कामसँगै डर पनि थियो, भाषा नआउने, गल्ती भय भने जागिर जाने, कानूनी झन्झट हुने। तर ती डरहरूलाई पन्छाएर, हरेक बिहान नीलो आकाश हेरेर भन्थेँ म अब नेपाल “म फर्किन्छु, फर्केर उतै केही गरेर देखाउँछु।” अब म थाहा पाउँछु प्रदेशमा पैसा मात्र हुँदैन, आँशु हुन्छ, अभाव हुन्छ, मौन पीडा हुन्छ। त्यो पीडाको स्वाद मैले चाखिसकेको छु। तर यही पीडाले मलाई बलियो बनायो, परिपक्व बनायो। फर्कनेछु म… तर पूर्ण भएर । अहिलेलाई म टाढा छु। तर हरेक रातको निद्रामा, म नेपालको नक्सा देख्छु। बैतडी बोलाउँछ “कहिले फर्किन्छस आशिष् ?” छिटै फर्कनेछु। अझै केही वर्ष सग्लो बनाउँछु, आत्मबल, सीप, र साधन। फेरि त्यही गाउँमा उभिएर भन्छु, “अब पत्रकारितामा होइन, व्यवहारमा देश बनाउने छु !”













