बझाङको टुमेडा भीरमा अटो खस्दा ३ जनाको मृत्यु, एक बालक बेपत्ता

कैलाली । बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा भीरमा अटो रिक्सा दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक बालक बेपत्ता भएका छन् ।

टुमेडा गाउँबाट बुङ्गल नगरपालिका-११ हिनगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अटोमा सवारमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बुङ्गल नगरपालिका-१० निवासी ३५/४० वर्षीया राजमती महरा, १५/१६ वर्षीया तारा महरा र ५/६ वर्षीया डल्ली महराको मृत्यु भएको हो ।

अटोमा चारदेखि पाँच जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको र एक बालक अझै फेला पर्न नसकेको जनाइएको छ । दुर्घटनामा घाइते भएकाहरूको उद्धार कार्य भइरहेको छ ।

बेपत्ता बालकको खोजी तथा उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुङ्गलका प्रहरी सहायक निरीक्षक बिरबहादुर ठगुन्नाले बताए ।

प्रतिक्रिया छाेड्नुहाेस्