बैतडी — बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ मा बिहीबार आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी ३० जना रास्वपामा प्रवेश गरेका छन् ।
रास्वपाका सुदूरपश्चिम प्रदेश उपसभापति भोजराज जोशी (क्वालिटी) का अनुसार विभिन्न पार्टीमा आबद्ध ३० जनाले रास्वपा प्रवेश गरेका हुन् । जिल्लाका अन्य स्थानमा पनि कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम तय गरिएकाले केही दिनसम्म लगातार कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
नवप्रवेशीहरूलाई रास्वपाका पञ्चेश्वर गाउँपालिका सभापति वीरबहादुर चन्द, सुदूरपश्चिम प्रदेश सार्वजनिक मामिला विभागका पूर्वउपप्रमुख एवं युवा नेता विशाल भट्ट र प्रदेश उपसभापति जोशीले स्वागत गरेका थिए ।
कार्यक्रममा पार्टीको विधान, आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया तथा चुनावी तयारीका विषयमा समेत कार्यकर्तालाई जानकारी गराइएको युवा नेता भट्टले बताए ।
आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा स्थानीय तहमा पार्टीको उपस्थिति बलियो बनाउने विषयमा समेत छलफल गरिएको युवा नेता भट्टले बताए ।










