गौरा पर्वको मुख्य दिन आज दुर्गाष्टमी (अठेवाली) धुमधाम संग मनाइदै

१९ भदौ, बैतडी– सुदूरपश्चिममा बुधबार गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । गौरा पर्वको मुख्य दिन आज अठ्यावली अर्थात् अष्टमी हो । यस दिन गौराको पूजाआजा गरी मनाइन्छ ।

सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व बैतडी सहित डडेल्धुरा, दार्चुला, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ ।

भदौ कृष्ण पक्षमा पर्ने गौरालाई अन्यारी गौरा तथा भदौ शुक्ल पक्षमा पर्ने गौरालाई उज्याली गौरा भन्ने चलन रहिआएको छ । यस पटकको गौरा कृष्णपक्षमा परेको छ ।

भदौ कृष्ण पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीको महान् पर्व गौराको पहिलो दिन महिलाहरूले घरघरमा तामाको भाँडामा बिरूडा (५ प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रूपमा सुरुवात गर्दछन् ।

भदौ कृष्ण पञ्चमीका दिन महिलाहरूले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरूडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ । भदौ शुक्ल पञ्चमीका दिन बिरूडा भिजाउने चलन रही आएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरूडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ।

भदौ कृष्ण पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजाअर्चना गरी विवाहित महिलाहरूले दुवधागो (अभिमन्त्रित एक किसिमको घाँटीमा लगाउने धागो) चढाउने चलन छ।

अठ्यावली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन) मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ । हिजो सप्तमीका दिन गौराघरमा भित्र्याइएको गौरालाई आज ब्रतालु महिलाहरूले गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन छ। आजको दिनमा लौकिक मान्यता अनुसार गौराकी सौताका रूपमा ‘सञ्ज्या’ लाई ल्याउने गरिन्छ।

‘दूर्बा’ अर्थात् दुबोको पूजा गरिने हुँदा दूर्बाष्टमी पनि भनिएको हो। अष्टमी र दुबो दुबै भगवतीका लागि प्रिय छन्। त्यसैले गौरापर्व मनाइने क्षेत्रमा आजको दिनको विशेष महत्व छ। यसका साथै तागाधारी पुरूषका लागि ऋषितर्पणी वा जनैपूर्णिमाको महत्व भए जस्तै तागाधारी नारी जातिका लागि आज विशेष महत्व छ।

पबित्र धागोबाट निर्माण गरिएको ’दुबोधागो’ लाई बिधिपूर्वक अभिमन्त्रित गरी तागाधारी नारीहरूले आजकै दिन धारण गर्दछन्। पुरानो मान्यता अनुसार दुबोधागो ग्रहण नगरिएका महिलाहरूले भात भान्सा गर्न र गौरा पुज्ने अधिकार पाउँदैनथे।

गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ।  देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ।

त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ। गौरा पर्व भदौ शुक्ल पञ्चमीका दिन आरम्भ हुने भएपनि गौरा विसर्जन भने आआफ्नै चलन अनुसार गर्ने गरिन्छ। भदौ शुक्ल पञ्चमीका दिन गौरा पर्व आरम्भ हुने भए पनि गौरा विसर्जन भने हरेक ठाउँको आ–आफ्नै चलन अनुसार गर्ने गरिन्छ ।

प्रतिक्रिया छाेड्नुहाेस्