२ भदौ, बैतडी । मकवानपुरको जुरिखेतमा भएको जिप दुर्घटनामा घाइते भएकी बैतडीको दशरथचन्द नगरपालिका- ७ सुर्कालकी ४९ वर्षीय लक्ष्मी बडूको मृत्यु भएको छ । उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाण्डौँ लगिएका उनको छाउनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक बडू उच्च अदालत वीरगञ्जका रजिष्ट्रार तारादत्त बडूकी पत्नी हुन् । उच्च अदालत वीरगञ्जका न्यायधीश ५७ वर्षीय गोकर्ण डाँगी, रजिष्ट्रार तारादत्त बडू, उनकी पत्नी लक्ष्मी बडू, छोरा रितेन्द्र बडू र जनस्वास्थ्य निरिक्षक छोरी रिता बडू सवार स्कापियो आज बिहान मकवानपुरको जुरिखेतमा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते हुनेहरुमा दाङको तुलसीपुर उपमहानगरपालिका– ९ घर भएका उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, बैतडीको दशरथचन्द नगरपालिका- ७ सुर्काल घर भई उच्च अदालत वीरगञ्जका रजिष्ट्रार तारादत्त बडू , २५ वर्षीया छोरा रितेन्द्र बडू र ३१ वर्षीया छोरी रिता बडू रहेका छन् घाइतेहरुमध्ये रजिस्टारकी छोरी जनस्वास्थ्य निरिक्षक रिता बडूको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दाङको राप्ती नगरपालिका- ८ का करिब ३२ वर्षीय जिप चालक छुनिलाल चौधरी समेत घाइते भएका छन् ।
मंगलबार बिहान भीमफेदी गाउँपालिका-६ जुरीखेलमा काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो सडकबाट करिब ५०-६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





