बैतडी – बैतडीको दुर्गम पञ्चेश्वर गाउँपालिका – १ मा रहेको नागार्जुन आधारभूत विद्यालय पालडीमा बिदाका दिन पनि पढाइ हुने गरेको छ । नेपाल सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गर्नु अघि नै यो विद्यालयमा शनिबारका दिन पनि पढाइ हुने गरेको थियो ।
शुक्रबारसम्म विद्यार्थीलाई पाठ्यक्रमअनुसारको पढाई हुने र बिदाका दिन पढाइएका पाठ दोहोर्याउनुका साथै अतिरिक्त मनोरञ्जन र ज्ञानगुनका कुरा सिकाईने विद्यालयका प्रधानाध्यापक सुरेश सार्कीले बताए । कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयले पालिकास्तरीय आधारभूत तहको परिक्षामा सतप्रतिशत नतिजा ल्याउँदै दुई वर्षदेखि लगातार पालिकाकै उतकृष्ट विद्यालय घोषणा भई पुरस्कृतसमेत हुँदै आएको उनले बताए ।विद्यालयमा ८४.७६ प्रतिशत विद्यार्थी दलित बालबालिका रहेका छन् ।
विद्यालयमा कुल १ सय ६४ अध्ययनरत विद्यार्थीमध्ये १ सय ३९ जना दलित समुदायका बालबालिका अध्ययन गर्छन् । २०५१ सालमा चिउरीको बोटको फेदीमा विद्यार्थी बसालेर पढाउन सुरु गरि स्थापना गरिएको यो विद्यालयले चार पाँच बर्ष यतामात्रै शैक्षिक र भौतिक प्रगती गरेको देखिन्छ ।
विद्यालयले दशै तिहारको लामो विदामा विद्यार्थीको पढाईलाई निरन्तरता गाउँकै दुई जना स्वंयसेवक शिक्षक राखेर बालबालिकाको पढाइलाई निरन्तरता दिइरहेको प्र.अ.सार्कीले बताए । लामो बिदामा विद्यार्थी खेल्नमै व्यस्त हुनेभएकाले उनीहरुलाई पढाईप्रति जागरुक गराउन स्वयंसेवक शिक्षक मार्फत पढाउने गरेको उनले बताए ।

विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाले गाउँकै सहकारीमा शिक्षक बचत कोष स्थापना गरेका छन् । यस कोषमा विद्यालयका प्रत्येक शिक्षक–शिक्षिकाले मासिक तलबबाट दुई हजार रुपैयाँ बचत गर्ने गरेका छन् ।
कोषबाट ब्याज स्वयंसेवक शिक्षकको तलबलगायत विद्यालय व्यवस्थापनमा खर्च गर्ने गरिएको छ । विद्यालयमा दुई स्थायी, एक राहत र एक बालविकास गरी जम्मा चार जना शिक्षक कार्यरत छन् । बिदाको दिन पनि विद्यालयकै शिक्षकले पालैपालो पढाउने गरेको र यसबाफत शिक्षकलाई कुनै पारिश्रमिक नदिइने प्रधानाध्यापक सार्कीले बताउनु भयो ।
‘धेरैजसो अभिभावक कामको सिलसिलामा भारतमा भएकाले उनीहरु बैठकमा अपस्थित हुन सक्दैनन्,’ प्र.अ सार्कीले भने, ‘उनीहरुले आफ्ना बालबालिकाको पढाइबारे जानकारी पाउन र सुझाव दिन दैनिक साँझ दुई घण्टा वाटसएप ग्रुपमा छलफल गर्छौ ।’ पहिले शनिबार मात्र हुने बिदा नेपाल सरकारले आइतबार पनि दिन थालेपछि विद्यालयले बिदाका दुवै दिन विद्यार्थीलाई अतिरिक्त कक्षा पढाउने गरेको छ । यसले विद्यार्थीमा पढाइप्रतिको लगाव बढेको विद्यालय व्यवस्थापन समितिका (बिब्यास) अध्यक्ष गोरखराम सार्कीले बताउनु भयो ।

विद्यालयले यस वर्ष प्रजापति प्रसाई फाउन्डेसनबाट प्रदान गरिने राष्ट्रिय शैक्षिक पुरस्कारअन्तर्गत ‘विद्यालय सुधारमा प्रयत्नशील प्रोत्साहन’ पुरस्कारबाट नगद एक लाख रुपैयाँसहित सम्मान प्राप्त गरेको छ । विद्यालयमा आइसिटीको सुविधा तथा पर्याप्त भौतिक पूर्वाधारको अभाव रहेको विद्यालयले जनाएको छ ।
आउँदो शैक्षिक सत्रमा पालिकाले अनुमति दिए कक्षा ६ को पढाइ संञ्चालन गर्ने तयारीसमेत गरिरहेको विव्यस अध्यक्ष सार्कीले बताए । प्रअ सार्कीले पनि यसै विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका हुन् ।












