बैतडी- पछिल्लो समय मेलौली नगरपालिकामा नगर प्रमुख र उपप्रमुखको किचलोले विभिन्न निर्णय कार्यान्वयनमा बाधा हुने गरेको छ । नगर प्रमुख भिम बहादुर चन्दको पत्रले कार्यपालिकाबाट गरिएका निर्णयलाई कार्यान्वयनमा रोक लागेको छ ।
नगरप्रमुख चन्द चीन भ्रमण गएका बेला नगरउपप्रमुखलाई कार्यवहाकको जिम्मा दिएको समयका निर्णय कार्यान्वयन नगर्न नगरप्रमुख चन्दले प्रशासकीय अधिकृतलाई आधिकारिक रुपमा निर्देशन दिएका छन् । नगरप्रमुख चन्दले आफु चीन भ्रमणमा जाने र र त्यहाँबाट नफर्कुञ्जेल सम्म नगर कार्यपालिकाको बैठक सम्पुर्ण काम गर्न सक्ने गरि कार्यबाहकको पत्र नगर उपप्रमुख पार्वती बोहरा विष्टलाई दिएका थिए ।

उपप्रमुख विष्टले नगर कार्यपालिकाको बैठक बोलाई सर्वसम्मत ६ वटा निर्णय गरी कार्यान्वयन गर्न खोज्दा उक्त निर्णयलाई नगरप्रमुख चन्दले कार्यान्वयन नगराउन उपप्रमुख विष्टलाई पत्र पठाएका थिए । उक्त पत्रको बोधार्थ प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिंह रावललाई समेत पठाएका थिए ।
नगरप्रमुख चन्दको त्यो पत्रले बैठकमा गरिएका निर्णय कार्यान्वयन हुन नसकेको कार्यपालिका सदस्य लोकराज भट्टले बताउनुभयो । स्थानीय सरकार संचालन ऐनमा नगर प्रमुखको काम कर्तव्य र अधिकारमा कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने भन्ने कुरा स्पष्ट उल्लेख गरिएको भएपनि नगर प्रमुखले यसको विपरीत कार्यान्वयन नगर्न पत्रै पठाएको उहाँको आरोप छ । नगर प्रमुखको यस्तो पत्रले लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाउदै संघीयतालाईनै चुनौती दिएको भट्टको भनाई छ ।

उपप्रमुख विष्टको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले आर्थिक वर्ष ८०/८१ मा स्वीकृत योजना तथा कार्यक्रमहरु संसोधन गर्ने, वडा अन्तर्गतका स्वीकृत योजना तथा कार्यक्रम आवश्यकता अनुसार वडाबाट सिफारिस भएवमोजिम संसोधन गर्ने, नगरपालिकाको भवन नियमित तथा अभिलेखिकरण सम्बन्धि कार्यविधी २०८० र कम्पलेक्स भवन कोठा, सटर, टहरा बहालमा लगाउने सम्बन्धि कार्यविधि थप छलफलका लागि विधेयक समितिमा पेस गर्ने, बहुक्षेत्रीय पोषणका वडास्तरका सबै कार्यक्रमलाई संचालन हुने वडामा रहेका समुहहरु मार्फत संचालन गर्ने, दलित लक्षित कार्यक्रमहरु नगरसभा र नगर कार्यपालिकामा रहेका दलित सदस्यहरुको निर्णय अनुसार संचालन गर्ने र सम्मानित उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा परेको रिटमा नगरपालिकाको तर्फबाट वडा नं. ७ का अध्यक्ष रामचन्द्र भट्टटलाई अख्तीयारी दिई पठाउने लगायतका निर्णय गरेको थियो ।

नगरपालिका नपुग्दै माथी उल्लेखित निर्णय मध्ये अदालत सम्बन्धी निर्णय बाहेक अरु सबै निर्णय कार्यान्वयन नगर्न नगर प्रमुख चन्दले उपप्रमुख विष्टलाई पत्र पठाएका थिए । आफुले नगर उपप्रमुखलाई कार्यबाहक दिएको समयमा पुर्वाग्रह सहित मेरो अध्यक्षतामा भएका निर्णय उल्ट्याएकाले यस्तो पत्र पठाउनुपरेको नगर प्रमुख चन्दले बताउनुभयो । उहाँले भन्नुभयो ‘अधिकारको दुरुपयोग गर्दै पुर्वाग्रह राखि मेरो अध्यक्षतामा भएका निर्णय उल्ट्याउनु कहाँको न्यायोचित हुन्छ, त्यसैले पत्र पठाउन बाध्य भए ।’
उपप्रमुख विष्टको अध्यक्षतामा बसेको बैठकले उपभोक्ता समिति मार्फत योजना संचालन गर्ने निर्णय गरेको सन्दर्भमा प्रमुख चन्दले भन्नुभयो ‘सडक वोर्ड र सम्पुरकका योजनामा मात्र टेन्डर खोलेका छौ, बाँकी नगरपालिकाबाट संचालन हुने योजना उपभोक्ता समिति मार्फतनै गराउने गरिएको भएपनि उपप्रमुख विष्टले त्यसको विपरित सडक बोर्डका योजनाहरु उपभोक्ता समिति मार्फत गराउने निर्णय गरेको छ, तर त्यो ठेक्कामार्फतनै गराउनुपर्ने हुन्छ ।’
उपभोक्ता मार्फत गराउन सक्ने योजनालाई पनि नगरप्रमुख चन्दले ठेक्का मार्फत गराउने गरेको आरोप विपक्षी कार्यापालिका सदस्यहरुको छ । ठेक्का मार्फत योजना संचालन गरेर बाँकी रहेको रकम आर्थिक वर्षको अन्तमा आफु अनुकुलका व्यक्तिलाई कोटेसन मार्फत बाड्ने गरेको समेत नगरप्रमुख चन्दमाथी आरोप लाग्ने गरेको छ । गतवर्षको जेठ अन्तिममा मात्रै नगरपालिले विभिन्न ठेक्काबाट बचेको ५९ लाख बढी रकम आफु अनुकुलका व्यक्तिहरुलाई कोटेसन बाडेको थियो ।
यस सन्र्दभमा उपप्रमुख विष्टले भन्नुभयो ‘कोटेसन वितरण बारे आफुलाई थाहा नभएको र अन्तमा अनुगमन गर्दा प्राविधिकहरुले यो काम कोटेसन मार्फत हो भन्दा मात्र थाहा भयो ।’












