बैतडी- तल्लो स्वराड क्षेत्रका हस्ती नेपाली कांग्रेसका नेता एवम मेलौली नगर उपसभापति ६८ वर्षीय शुक्रबहादुर चन्दको बिहिवार बिहान निधन भएको छ।
चन्द आफ्नै घरआँगन नजिक रहेको पधेरोमा नुहाउन जाने क्रममा अचानक ढलेपछि निधन भएको पारिवारिक स्रोतले बताएको छ।
२०३६ सालको जनमतसंग्रहदेखि बहुदलीय प्रजातन्त्रको आन्दोलनमा सक्रिय रहनुभएका चन्दले तल्लो स्वराड क्षेत्रमा सामाजिक तथा राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो।
प्रजातन्त्र पुनर्स्थापनापछि भएका स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मेलौली गाउँ विकास समितिको उपाध्यक्षमा दुई पटक निर्वाचित हुनुभएका चन्द नेपाली कांग्रेस बैतडीको जिल्ला कार्यसमिति सदस्यका रूपमा दुई कार्यकाल तथा क्षेत्रीय कार्यसमिति उपसभापतिको जिम्मेवारीमा समेत रहनुभएको थियो।
हिजो सम्पन्न नेपाली कांग्रेस मेलौली नगर अधिवेशनबाट उहाँ उपसभापतिमा निर्विरोध निर्वाचित हुनुभएको थियो।
चन्दको निधनले परिवारजन तथा आफन्तमा मात्र नभई तल्लो स्वराड क्षेत्रको सामाजिक, राजनीतिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा समेत क्षति पुगेको सवै पार्टीका नेतहरुले बताउनु भयो ।












