बैतडी- सुदूरपश्चिम प्रदेशका नागरिकले अहिले पनि विविध समस्याको सामना गर्नु परेको छ ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको लामै समय वितिसक्दा पनि यहाँका नागरिकको अवस्थामा खासै सुधार आउन सकेको छैन् ।
राजनीतिमा लागेका नेता एवं कार्यकर्ताको दैनिक जीवनशैलीमा ठुलै परिवर्तन आएको देखिएपनि राजनीतिबाट टाढा रहेकाहरुको अवस्था भने अहिले पनि उस्तै छ ।
अहिलेको आधुनिक युगमा पनि यहाँको ९ प्रतिशत जनसंख्या सामान्य मोबाइल सेवाको पहुँचबाट समेत टाढा छ । यहाँको ९ प्रतिशत जनसंख्या यो सुविधाबाट अझै वञ्चित हुन पुगेको हो । मोबाइलपछि कम्प्युटर र ल्यापटप रहेको परिवार संख्या पनि जम्मा ६ दशमलव ५९ प्रतिशत मात्र देखिएको छ। यस्तो सुविधाबाट यहाँको ९४ प्रतिशत जनसंख्या वञ्चित छ ।
सुदूरपश्चिममा चार दशमलव ३९ प्रतिशत परिवार अहिले पनि शौचालयविहिनको अवस्थामा छन् । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरूले ४.३९ प्रतिशत घरपरिवार अझै पनि शौचालयविहीन रहेको देखाएको हो । सुदूरपश्चिममा १.१३ प्रतिशत परिवारमा कार÷जिप÷भ्यान रहेको तथ्यांकले देखाएको छ ।
यहाँ १५.५९ प्रतिशत घरपरिवारमा मोटरसाइकल÷स्कुटर रहेको प्रतिवेदनमा उल्लेख छ । यहाँका नागरिकको औषत आयु ७१.३ वर्ष पुगेको पनि प्रतिवेदनले देखाएको छ ।
औसत आयु बढ्नुमा स्वास्थ्य प्रणालीमा भएको सुधार, सचेतना, बालबालिकाले पाइरहेको पोषण र जन्मेदेखि हुर्किंदासम्म पाउने लालनपालनले समेत ठूलो भूमिका खेलेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।











