आफन्त भनेको के हो? भन्ने कुरा किताबका परिभाषाले होइन, जीवनका चोटहरूले सिकाउँछन्। मैले त्यो पाठ परदेशको माटोमा पसिना बगाउँदै, वर्षौँको संघर्ष र असह्य पीडाबीच सिकेँ। सुखका दिनमा हाँसो बाँड्नेहरू धेरै भेटिए, तर दुःखका रातमा साथ दिने हातहरू नै साँचो आफन्त रहेछन् भन्ने अनुभूति गहिरो रुपमा मनमा बस्यो।
आज म जहाँ छु, जुन अवस्थामा उभिएको छु, त्यो केवल मेरो मेहनतको फल मात्र होइन, माता निङ्गलासैनी भगवती र बाबा ग्वालेक केदारको असीम कृपा र आशिर्वाद पनि हो ।
मेरो संघर्ष र मेरा इष्टकुलले जीवनका कठोर मोडहरूमा पनि मलाई ढल्न दिएन। थकानले हार्न खोज्दा पनि मनको कुनाबाट बलिरहने एउटै उज्यालो थियो, “भगवान छन्, सबै ठीक हुनेछ।” यही विश्वासले मलाई हरेक दिन अघि बढाइरह्यो।
प्रदेशको जीवन सजिलो हुँदैन, यो कुरा भोगेकाले मात्र बुझ्छ। परदेशको माटोमा पसिना बगाउँदा आफ्नै देश, आफ्नै आँगन र आफ्नै मान्छे कति टाढा हुन्छन् भन्ने कुरा हरेक रात महसुस हुन्थ्यो। कति दुःख–कष्ट भोगेँ, भोक, डर र अनिश्चिततासँग लड्दै बितेका अनगिन्ती रातहरू अझै स्मृतिमा ताजा छन्।
एक समय त यस्तो पनि आयो, जब अस्पतालको बेडमा एक्लै पल्टिएर जीवन र मृत्युको सिमानामा सोचहरूमै हराइरहेको थिएँ। त्यतिबेला न कुनै आफन्तको आवाज आयो, न त एउटा फोन । “कस्तो छ?” भनेर सोध्ने कोही भेटिएन। त्यो पीडा शब्दमा व्यक्त गर्न सकिँदैन, मनको गहिराइमा पोको पारेर बोकिरहेँ।
सानो र कलिलो उमेरमै जिम्मेवारीको भारी काँधमा आयो। खेल्ने–रमाउने उमेरमा कामको चिन्ता थियो। सँगै पसिना बगाउने साथीहरूले मेरो संघर्ष देखे, बुझे। मैले कसैको अहित गर्ने सोच राखिनँ, आजसम्म पनि छैन। अरूले मलाई कसरी बुझ्छन्, के भन्छन्, त्यो मेरो नियन्त्रणमा छैन। तर म जस्तो छु, त्यस्तै छु। मलाई पढ्दा जस्तो देख्नुहुन्छ, म त्यही कथा हुँ, न बढी, न कम।
मेरो जीवनको सबैभन्दा भावुक र कमजोर क्षणमध्ये एक त्यो दिन थियो, जब मेरो छोराको न्वारन चलिरहेको थियो। खुशीको त्यो समयमै भिसा आयो, तर मेनपावरलाई बुझाउन पैसा थिएन। एउटै कोठामा बसेर, कसैलाई केही भन्न नसकी, धुरुधुरु रोएको त्यो रात आज पनि आँखा अगाडि उभिन्छ। छोराको भविष्य र आफ्नो असहायताबीच म च्यापिएको थिएँ, निर्णय र विवशताबीच।
त्यही अँध्यारो घडीमा भगवानले मानिसको रूप लिएर सहयोग पठाउनुभयो। आदरणीय अङ्कल नरबहादुर माल (आशु) र मेरो माइतीका मामा खेमराज भट्टले दिनुभएको साथ र विश्वास म जीवनभर बिर्सन सक्दिनँ। उहाँहरूको सहयोगले मात्र होइन, उहाँहरूको भरोसाले पनि मलाई उठायो।
आज म जहाँ छु, जुन ठाउँमा उभिएको छु, त्यो उहाँहरूको देन हो। यो ऋण शब्दले तिर्न सकिँदैन, यो त हृदयमा सधैँ जिउँदो रहने कृतज्ञता हो।
गाउँघरका कुरा कानमा पर्छन्। राम्रोभन्दा नराम्रो कुरा छिटो फैलिन्छ । यो समाजको यथार्थ हो। कसैको मुखबाट राम्रो सुन्न नपाइएला, तर ठीक छ, म बुझ्छु। म आफ्नो परिवारको भविष्य सुरक्षित बनाउन, उनीहरूको सपना पूरा गर्न टाढा पुगेको हुँ। दूरीले माया घटाएको छैन, झन् गहिरो बनाएको छ।
ढुक्क हुनुहोस्। माता निङ्गलासैनी भगवती र बाबा ग्वालेक केदारले जब बोलाउनुहुन्छ, सह–परिवार पर्वको बेला अवश्य फर्किनेछौँ। त्यो माटो, त्यो आँगन, त्यो गाउँ र त्यहाँका मान्छेहरू, सबै मेरो मनमा बसेका छन्।
यत्ति धेरै माया गर्ने, सम्झिने र साथ दिने सबैप्रति हृदयदेखि धन्यवाद। यो यात्रा सजिलो थिएन, तर साँचो थियो।
— आशिष् माल, हाल पोल्यान्ड









