सिद्धेश्वर माविको व्यवस्थापन समिति अध्यक्षमा छटौँ पटक पुन : भाट

बैतडी — बैतडीको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर माध्यमिक विद्यालय, हुक्केडाँडामा शनिबार नयाँ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) पुनर्गठन गरिएको छ । अभिभावक भेलाले पुनः छटौँ पटक प्रेम सिंह भाटलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको विद्यालयका प्रधानाध्यापक प्रकाश सिंह महराले जानकारी दिए ।

वि.सं. २०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्म अध्ययन–अध्यापन सञ्चालन भइरहेको छ । नेपाल सरकारले केही नेपाल ऐन संशोधन गरेसँगै शिक्षा ऐनमा समेत संशोधन भई विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी नयाँ व्यवस्था लागू भएपछि सोही प्रावधानअनुसार नयाँ समिति गठन गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय कर्मचारी गोपाल सिंह महराका अनुसार प्रेम सिंह भाटको अध्यक्षतामा पहिलो पटक वि.सं. २०७२ सालमा विद्यालय व्यवस्थापन समिति गठन भएको थियो । त्यसयता उनी लगातार विद्यालय व्यवस्थापनको नेतृत्व गर्दै आज छटौँ पटक अध्यक्षमा चयन भएका हुन् । नवनिर्वाचित समितिमा पार्वती भाट, जयन्ती महरा र चन्द्र सिंह महरा सदस्य रहेका छन् भने विद्यालयका प्रधानाध्यापक प्रकाश सिंह महरा सदस्य–सचिव रहेका छन् ।

यसैबीच विद्यालयको समग्र विकास तथा व्यवस्थापनमा आवश्यक सुझाव प्रदान गर्ने उद्देश्यले पाटन नगरपालिका–९ का वडा अध्यक्ष कालु सिंह भाटको अध्यक्षतामा एक सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिमा वडा नं. ८ का वडा सदस्य तथा श्री शिगास माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण सिंह महरा र पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण सिंह महरा सदस्य रहेका छन् ।

प्रेम सिंह भाटको नेतृत्वमा विद्यालयले शैक्षिक, भौतिक तथा व्यवस्थापकीय क्षेत्रमा उल्लेखनीय प्रगति गरेको, कक्षास्तर विस्तार भएको तथा विद्यालयमा विभिन्न सकारात्मक कार्यहरू सम्पन्न भएकाले पुनः सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको अभिभावक राम सिंह महराले बताए ।

प्रतिक्रिया छाेड्नुहाेस्