आर्थिक भारले थिचिएको हाम्रो भविष्य SLC नपुग्दै टुगिंयो, के हाम्रा पुस्ता उम्केलान्?

बैतडी– मेरा पहाडहरू आज पनि उस्तै छन्, हावा उस्तै, खोला–नालाहरु उस्तै, गोरेटो बाटोहरू उस्तै। तर ती बाटोमा हिँड्ने मान्छेहरूका सपना भने धेरै अघि नै थाकिसकेका छन्।

२०६९ साल, मैले एसएलसी दिएको वर्ष। त्यो समय सम्झिँदा आज पनि मन भक्कानिन्छ।

त्यो उमेर, अल्लारे, निश्चल, कुनै चिन्ता नभएको जस्तो लाग्ने, तर भित्रभित्रै जिम्मेवारीले थिचिएको।

आमा–बुवाको भरोसामा बाँचेका हामी, उनीहरूको आशा बोकेर स्कुल पुगेका हामी। हामी ठूला भइसकेका थियौँ, तर मन अझै बालापनमै थियो—लाटा, सोझा, लजालु।

त्यो समयको जीवन कस्तो थियो?
बिहान सबेरै उठ्ने। कुवा वा धारामा पानी भर्ने। दिदीबहिनीहरू घाँस, स्याउला, गोठपातमा लाग्ने। आठ बजेतिर रोटी बनाउने, अनि झण्डै नौ बजेतिर स्कुलका लागि हिँड्ने। कसैको घर टाढा थियो भने उनीहरू त अझै चाँडै उठ्थे, आधा बाटो पार गरेर मात्र स्कुल पुग्थे।

तर त्यो जीवनमा रमाइलोपन पनि थियो। दुख भए पनि हाँसो थियो। अभाव भए पनि अपनत्व थियो।

तर आज सम्झिँदा, ती हाँसोहरूभित्र कति पीडा लुकेको थियो भन्ने थाहा हुन्छ।

नाङ्गो खुट्टाले तातो घाममा पैताला पोलाउँदै स्कुल जानु, रोटी भए तरकारी नहुनु, कहिले नुनसँग रोटी खानु, फाटेको ड्रेस, साबुन बिना नुहाउनु, कपडा धुने साबुन पनि नहुनु ।

यी सबै सामान्य जस्तै लाग्थ्यो। किनभने त्यो हाम्रो वास्तविकता थियो, त्यसको एउटै कारण हो आर्थिक अभाव।

घरमा सन्तान धेरै— ८, १०, १२ सम्म। एक जनाले नयाँ लुगा पाए, अरूले त्यही पुरानो लगाउने।

तर त्यो पुरानो लुगा पाउँदा पनि कति खुसी हुन्थ्यौँ, त्यो अनुभूति आजका पुस्ताले सायद बुझ्दैनन्।

त्यसरी नै भोको, नाङ्गो, दुख र सुख बाँड्दै हामी एसएलसीसम्म पुग्यौँ। तर त्यो अन्त्य होइन, धेरैका लागि त्यहीँ बाटो टुंगियो।

हामीसँग पढ्ने ५०–५५ जना साथीहरू थिए। कति त पाँच, छ, सात कक्षामै स्कुल छोड्न बाध्य भए।

जो ९–१० कक्षा सम्म पुगे, उनीहरूमा क्षमता थियो, कोही पनि कम थिएनन्।

म संगका अलि पढाईमा राम्रा विद्यार्थी साथिहरुको नाम उल्लेख गर्छु-

महेश कलौनी, विष्णु कलौनी, भगवान कलौनी, प्रकाश घटाल, भिम साउंद, पङ्कज साउंद, हेमा चन्द, हेमा कलौनी, हिरा घटाल, गिता घटाल, धिरेन्द्र घटाल, विजय सार्कि, बलविर सार्कि, मनोज चन्द, सुरज साउंद(लक्कि), सुनिता साउंद, मायावती घटाल, कलावती घटाल, कमला साउंद, नरेश लुहार, पुष्कर सार्कि, गौरव सार्कि, दिपक साउंद, नविन साउंद, लगायतका धेरै साथिहरु पढाइमै राम्रो हुनुहुन्थ्यो ।

दुखका साथ भन्छु, यी नामहरू केवल नाम मात्रै होइनन्, यी अधुरा सपनाका प्रतिनिधि हुन्।

मैले धेरै साथिहरुका नाम लेख्न छुटाए । कोहि साथीहरुको क्षमता कम त थिएन्, तर कोही भन्दा पढाइमा अलि बढी नै ध्यान लगाउने साथिहरुको नाम लेखें । अरु साथिको नाम छुट्यो माफि चाहे ।

आज सोच्दा मन पोल्छ, यी सबै साथीहरू जहाँ पुग्न सक्थे, त्यहाँ पुग्न सकेनन्।

किन? न त उनीहरूमा क्षमता कम थियो, न त सपना सानो। कमजोरी थियो त केवल एउटा आर्थिक अवस्था।

यदि त्यसबेला एसएलसीपछि पनि निशुल्क शिक्षा भएको भए, यदि परिवारको अवस्था अलि राम्रो भएको भए, यदि हामीले कुनै सिप सिक्न पाएका भए, सायद आज कथा अर्कै हुन्थ्यो। तर त्यस्तो भएन।

छोरालाई “अक्षर चिनेपछि कमाउन जा” छोरीलाई“अब बिहे गर” यही सोचले हाम्रो भविष्य रोकियो।

कोही भारत मजदुरी गर्न गए । कोही सानै उमेरमा बिहे गरेर जीवनको अर्को संघर्षमा पस्न बाध्य भए ।

आज धेरै साथीहरू भारतमै पसिना बगाउँदै छन्। कसैले सानो सफलता पाएका छन्, तर त्यो उनीहरूको क्षमता अनुसारको होइन। सामाजिक सञ्जालले फेरि जोडेको छ हामीलाई।

तर जब ती अनुहारहरू हेर्छु, पहिलेका उज्याला, आशावादी अनुहारहरू आज चिन्ता, थकान र निराशाले भरिएका देखिन्छन्। त्यो देख्दा मुटु चसक्क हुन्छ।

सबैभन्दा ठूलो पीडा के हो भने, हामीले आफ्ना आमाबुवाको सपना पुरा गर्न सकेनौँ। उनीहरूले ऋण गरेर हुर्काए, पढाए, विवाह गरिदिए। तर हामीले न आफ्नो सपना पूरा गर्न सक्यौँ, न उनीहरूको।

अझ दुःख त अहिले छ, अब आफ्ना सन्तानको भविष्य बनाउन खोज्दा उनीहरूकै काँधमा फेरि आर्थिक भार थपिँदैछ।

हामी गाउँ छोडेर सहर गयौँ। सहरबाट विदेश गयौँ। तर जहाँ गयौँ, संघर्ष उस्तै रह्यो।

मुल घरहरू बाँझिए, भत्किए। मूलथलो सुनसान भयो। हामी भाडाको सानो कोठामा सीमित भयौँ। कोठा भाडा, स्कुल फिस, दैनिक खर्च, सबै मिलाउँदा जीवन झन् गाह्रो हुँदै गइरहेको छ ।

आजको पुस्ताले अझै धेरै भोगिरहेको छ । खर्च बढी, आम्दानी कम, ऋणमाथि ऋण । पुस्ता नै आर्थिक भारले थिचिएको छ।

यो सबै देख्दा एउटा प्रश्न बारम्बार मनबाट हट्दैन, के हाम्रो पुस्ता कहिल्यै मुक्त हुन सक्ला?

कि हामी सधैं संघर्षमै अल्झिएर अर्को पुस्तालाई पनि यही पीडा सुम्पिनेछौँ? यो केवल हाम्रो कथा होइन। यो कयौं युवाहरूको साझा पीडा हो।

यदि अब पनि हामीले शिक्षालाई व्यवहारिक बनाउन सकेनौँ, यदि अवसर गाउँमै सिर्जना गर्न सकेनौँ, यदि आर्थिक असमानता घटाउन सकेनौँ भने, अर्को पुस्ताको कथा पनि यही हुनेछ, र त्यो दिन, हामी सबै हार्नेछौँ।

यो मेरो भोगाइ र चिन्ता हो । सबै साथीभाइहरुलाई धेरै धेरै सम्झेको छु ।

प्रतिक्रिया छाेड्नुहाेस्