बैतडी- बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषिमाथी कारबाहीको माग गर्दै दलित समाज विकास मञ्च बैतडी प्रेश विज्ञप्ती जारी गरेको छ ।
दलित समाज विकास मञ्चका अध्यक्ष सरस्वती नेपालीद्वारा हस्ताक्षरित विज्ञप्तीमा एउटा अबोध दुधे बालिकाको बलात्कार पछि हत्या जस्तो जघन्य घटनामा संलग्न दोषिलाई तत्काल पहिचान गरि कारबाही गर्न माग गरिएको छ । घटनाको वैज्ञानिक अनुसन्धान गरि दोषिलाई उम्किन नदिन सरकारसंग माग गरिएको हो ।
दोषिको पहिचान गरि कारबाही, परिवारको सुरक्षा, गोपनियता र क्षतिप्रतिको व्यवस्था समेत गर्न विज्ञप्तीमार्फ सरकारको ध्यानाकर्षण गरिएको छ ।
साउन ३१ गते घरबाट हराएकी उनी भदौ २ गते एक घरभित्र मृत फेला परेकी थिइन् । प्रहरीले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
गरिमा चौधरीको हत्या तथा बलात्कारका दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा समेत प्रदर्शन गरिएको छ।
ुस्वतन्त्र आमा नेपालु को आयोजनामा भएको उक्त प्रदर्शनमा सहभागीहरूले पीडित परिवारलाई तत्काल न्याय दिन र दोषीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
हातमा विभिन्न नारा लेखिएका प्लाकार्ड र ब्यानर बोकेर माइतीघर पुगेका प्रदर्शनकारीहरूले बलात्कार र हत्या जस्ता जघन्य अपराधविरूद्ध कडा कानुन निर्माण गर्नुपर्ने र अपराधीहरूलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए।
ुस्वतन्त्र आमा नेपालुका प्रतिनिधिहरूले पछिल्लो समय महिला तथा बालबालिकामाथि हुने यस्ता जघन्य अपराधका घटना बढ्दै गएको र कानुनी प्रक्रिया फितलो हुँदा अपराधीहरूले उन्मुक्ति पाउने वातावरण बनेको भन्दै आक्रोश व्यक्त गरे।
प्रदर्शनकारीहरूले गरिमा चौधरीको न्यायका लागि दबाबमूलक कार्यक्रमहरू निरन्तर जारी राख्ने चेतावनी समेत दिएका छन्।








