चाडपर्व मनाएर भारततिर जानेको लर्को

डडेलधुरा  । भारतको चेन्नईमा रोजगारी गर्दै आउनुभएका गन्यापधुरा गाउँपालिका–१ का खेम भट्ट यस वर्ष दसैँतिहार मनाउन घर फर्किनुभयो । वर्षभरि परिवारबाट टाढा रहेर रोजगारी गर्ने उहाँका लागि चाडपर्व आफन्तसँग भेटघाट गर्ने र गाउँघरमा रमाउने अवसर हो तर चाडपर्व सकिएसँगै उहाँको घर बसाइ पनि टुङ्गियो । केही दिन परिवारसँग बिताएर उहाँ पुनः रोजगारीका लागि चेन्नई फर्किनुभएको छ ।

गाउँमै बसेर केही गर्ने इच्छा भए पनि रोजगारीको विकल्प नहुँदा भारत जानुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । चाडपर्वका बेला परिवारसँग भेटघाट गर्न घर आउने र बाँकी समय रोजगारीका लागि भारतमै बिताउने उहाँको दैनिकी बनेको छ ।

“चाडपर्वका बेला समय मिलाएर घर आउनु पर्छ । यहाँ अन्य रोजगारी तथा व्यापार व्यवसाय गर्न त्यति सहज छैन् । अहिले भारत नै हाम्रो रोजगारीको क्षेत्र बनेको छ,” उहाँले भन्नुभयो । भट्टको अनुभव डडेलधुराका धेरै परिवारको साझा कथा हो । रोजगारीका लागि भारतमा रहेका नेपाली चाडपर्वका बेला घर फर्किने र बिदा सकिएपछि पुनः काममा फर्किने गर्नुहुन्छ । उहाँहरूका लागि गाउँसँगको सम्बन्ध र पारिवारिक भेटघाट प्रायः दसैँतिहार तथा खेतीपातीको समयमै सीमित हुने गरेको छ ।

दसैँ आउनुअघि कैलाली र कञ्चनपुरका सीमानाकाबाट सुदूरपश्चिमका पहाडी जिल्लातर्फ फर्किने नेपालीको चहलपहल थियो । भारतका बैङ्लुरु, चेन्नई, दिल्ली, मुम्बईलगायत सहरमा रोजगारी गर्दै आएका नेपाली घर फर्किरहनुभएको थियो । अहिले भने पहाडबाट तराई झर्ने र भारतका विभिन्न सहरतर्फ जाने यात्रुको चाप बढेको छ ।

अमरगढी नगरपालिका–३, हाटगाउँका पुरन दमाईं चाडपर्व मनाएर रोजगारीका लागि भारतको अमृतसर जाँदै हुनुहुन्छ । परिवारसँग चाडपर्व मनाए पनि गाउँमै बसेर जीविकोपार्जन गर्न सक्ने अवस्था नहुँदा पुनः भारत जान लागेको उहाँ बताउनुहुन्छ ।

अमरगढी नगरपालिका–८ की सावित्री नेपालीको अवस्था पनि उस्तै छ । श्रीमान्सँगै भारतको बैङ्लुरुमा काम गर्दै आउनुभएका उहाँ यस पटक दसैँतिहार मनाउन घर आउनुभएको थियो ।    

प्रतिक्रिया छाेड्नुहाेस्